वडा नं. १४ को सार्वजनिक सुनुवाइ तथा योजना छनोट कार्यक्रम भोलि,वडावासीलाई सहभागिताको आह्वान
काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिका वडा नं. १४ ले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका विकास निर्माण, सेवा प्रवाह तथा बजेट कार्यान्वयनको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि योजना छनोट र बजेट तर्जुमा सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
वडा कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त कार्यक्रम असार ७ गते बिहान ७ बजे कलंकीस्थित कोजी फुटसल ग्राउण्डमा सञ्चालन हुनेछ। कार्यक्रममा वडाभित्रका नागरिक, सरोकारवाला निकाय, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
वडा कार्यालयका अनुसार सार्वजनिक सुनुवाइमार्फत चालु आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम, खर्च भएको बजेट, प्राप्त उपलब्धि तथा नागरिकलाई प्रदान गरिएका सेवाबारे जानकारी गराइनेछ। साथै आगामी वर्षका विकास प्राथमिकता तय गर्न स्थानीय बासिन्दाको सुझाव र सहभागितालाई विशेष महत्व दिइने जनाइएको छ।
वडा अध्यक्ष सुमन श्रेष्ठ ले वडाको समग्र विकासका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै कार्यक्रममा उपस्थित भई रचनात्मक सुझाव दिन सम्पूर्ण वडावासीलाई आग्रह गरेका छन्।
स्थानीय तहको योजना निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले आगामी वर्षका विकास योजना थप प्रभावकारी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास वडा कार्यालयले व्यक्त गरेको छ।


