प्रधानन्यायाधीश सिफारिसपछि सर्वोच्चमा हलचल, पेशी सूची नै रोकियो
न्यायाधीश र प्रशासनबीच आकस्मिक बैठक
वरीयता र स्थापित परम्परा मिचेर चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मा लाई प्रधान न्यायाधीशमा सिफारिस गरिएपछि सर्वोच्च अदालत भित्र असामान्य अवस्था देखिएको छ। यसको प्रत्यक्ष असर दैनिक पेशी व्यवस्थापनमा परेको छ।
सामान्यतया बिहान साढे ९ बजेदेखि पौने १० बजाभित्र सार्वजनिक हुने दैनिक पेशी सूची आज भने ११ बज्दासम्म पनि सर्वोच्च अदालतको वेबसाइटमा चढ्न सकेको छैन।
स्रोतका अनुसार प्रधान न्यायाधीश सिफारिसपछिको विकसित परिस्थितिका कारण न्यायाधीशहरूबीच आवश्यक ‘गोला तान्ने’ प्रक्रिया नै अघि बढ्न नसकेको हो। सर्वोच्चभित्र अहिले न्यायाधीशहरू र प्रशासनिक अधिकारीहरूबीच आकस्मिक बैठक चलिरहेको बताइएको छ।
पेशी व्यवस्थापनमा संलग्न एक कर्मचारीका अनुसार, “भित्र बैठक जारी छ, तर अहिलेसम्म कुनै निष्कर्ष वा सूचना बाहिर आएको छैन।”
प्रधान न्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर न्यायालयभित्रै असन्तुष्टि बढिरहेको संकेत देखिन थालेको छ। यसको प्रभाव सर्वोच्च अदालतको नियमित कामकारबाहीमै देखिन थालेपछि न्यायिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

