सामान्य फोन गल्तीले निम्त्यायो दुःखद अन्त्य, लन्डन जाने तयारीमा रहेका दाजुभाइको चक्कु प्रहारबाट मृत्यु
काठमाडौं, २६ चैत्र । पाटन दरबार स्क्वायरमा बुधबार साँझ भएको एक हृदयविदारक घटनामा सामान्य फोन डायलको गल्तीले दुई निर्दोष दाजुभाइको ज्यान गएको छ। लन्डनमा रहेकी आमालाई भेट्न जाने तयारीमा रहेका सुमित (३३) र सिर्जन नेम्वाङ (२६) चक्कु प्रहारको सिकार बनेका हुन्।
प्रहरीका अनुसार, एउटा फोन गलत नम्बरमा लागेपछि सुरु भएको सामान्य विवादले भयावह रूप लिएको थियो। आफ्नै गल्ती भएको स्वीकार गर्दै माफी माग्न र विवाद मिलाउन दाजुभाइ घटनास्थल पुगेका थिए। तर, उनीहरूको प्रयास सफल हुन सकेन।
त्यहीँको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले कुरा नसुनी अचानक सिर्जनमाथि चक्कु प्रहार गरेका थिए। भाइमाथि आक्रमण भएपछि सुमित बचाउन अघि बढे, तर उनी पनि आक्रमणबाट जोगिन सकेनन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेको थियो। घाइते अवस्थामा रहेका दाजुभाइलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
आरोपी सञ्जीव घटनापछि भाग्ने क्रममा नजिकैको रेष्टुरेन्टमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ गर्ने क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहारको प्रयाससमेत गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार, मृतक दाजुभाइ इमाडोल का बासिन्दा थिए र उनीहरू आफ्नी आमालाई भेट्न लन्डन जाने तयारीमा थिए। सामान्य गलतफहमीले यति ठूलो क्षति निम्त्याउँदा स्थानीयवासी स्तब्ध बनेका छन्।


