१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

देउवा,प्रचण्ड र ओलीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अगाडि बढाउने तयारी


747
Shares

काठमाडौं । जेनजी आन्दोलनसँग जोडिएको घटनाक्रमले ठूलो राजनीतिक तरंग सिर्जना गरेको छ। जाँचबुझ आयोगको प्रतिवेदनपछि प्रहरीले उच्च तहका नेतामाथि नै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धान अगाडि बढाएको खबर बाहिरिएसँगै देशको राजनीति तातेको छ।

प्रहरी स्रोतका अनुसार आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको आगजनीपछि केही नेताहरूको घरमा शंकास्पद रूपमा ठूलो रकम फेला परेपछि अनुसन्धान थप गहिरिएको हो। यही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरु गरेको प्रारम्भिक अनुसन्धान अब विस्तृत चरणमा प्रवेश गरेको बताइएको छ।

यसैबीच, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ परेका छन्। उनको पक्राउसँगै अनुसन्धानको दायरा अझ फराकिलो हुने संकेत देखिएको छ।

त्यसैगरी, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको परिवारका केही सदस्यसहित सचिवालयका व्यक्तिहरूमाथि पनि अनुसन्धान अघि बढाइएको स्रोतको दाबी छ।

उता, नेकपा ९माओवादी केन्द्र० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको घरमा पनि आन्दोलनकै क्रममा नगद रकम फेला परेको बताइएको छ।

ललितपुरको सुनाकोठीस्थित घरमा आगलागी हुँदा भेटिएको उक्त रकमबारे मुचुल्का उठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यससँगै नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयका केही सदस्य पनि अनुसन्धानको घेरामा पर्न सक्ने संकेत देखिएको छ।

समग्रमा, जेनजी आन्दोलनसँग जोडिएको यो घटनाले देशका ठूला राजनीतिक नेताहरूलाई नै कानुनी दायरामा ल्याउन सक्ने सम्भावना बढाएको छ। आगामी दिनमा यो अनुसन्धानले कस्तो मोड लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया