१० चैत्र २०८२, मंगलबार | March 24, 2026

‘कांग्रेस आइडी’ देखि अनिवार्य प्रशिक्षणसम्म, गगन थापाको नयाँ रोडम्याप सार्वजनिक


498
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र संरचनात्मक सुधारको ठूलो पहल सुरु हुने भएको छ । पार्टी सभापति गगन थापाले आगामी वैशाख १ गतेबाट सदस्यता प्रणालीमा आमूल परिवर्तन गर्दै सबै क्रियाशील सदस्यको नयाँ ढङ्गले अभिलेखीकरण र अद्यावधिक गरिने घोषणा गरेका छन्।

उनका अनुसार अब प्रत्येक सदस्यले ‘कांग्रेस आइडी’ प्राप्त गर्नेछन् र सम्पूर्ण सदस्यता प्रक्रिया पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन हुनेछ। यस कदमले पार्टीलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, पार्टीभित्र नयाँ ऊर्जा र दक्षता भित्र्याउन ‘ल्याटरल इन्ट्री’को अवधारणा अघि सारिएको छ। विभिन्न पेशा, व्यवसाय र क्षेत्रका विज्ञहरूलाई सिधै पार्टीको नीति निर्माण र नेतृत्व तहमा ल्याउने व्यवस्था लागू गरिनेछ। यससँगै शुभेच्छुक संस्थाबाट महाधिवेशन प्रतिनिधि आउने पुरानो अभ्यास खारेज गरिने प्रस्ताव पनि अघि बढाइएको छ।

नेतृत्व विकासलाई थप व्यवस्थित बनाउन ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गरिने भएको छ। अब स्थानीय तह वा प्रदेश निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनिवार्य रूपमा यस एकेडेमीमार्फत प्रशिक्षण लिनुपर्नेछ।

“मेयर वा वडाध्यक्ष बन्न चाहनेले पब्लिक पोलिसी, अर्थतन्त्र र सुशासनका विषयमा तोकिएको घण्टा कक्षा लिनैपर्छ,” थापाले स्पष्ट पारे।

उनले यस प्रणालीले पार्टीका उम्मेदवारलाई शासकीय क्षमतामा दक्ष बनाउने र जनताका समस्या समाधानमा प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

कांग्रेसको यो नयाँ रणनीति पार्टीभित्र मात्र होइन, समग्र नेपाली राजनीतिक संस्कृतिमै सुधारको संकेतका रूपमा हेरिएको छ।

यस्तो छ भदौमा हुने भनिएको कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका (पूर्णपाठ)

प्रतिक्रिया