कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण : सर्वोच्चको आदेशपछि बादल र खनालमाथि अनुसन्धान खुल्यो
काठमाडौं । सर्लाहीमा भएको कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्च अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको छ। सर्वोच्चको आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अब औपचारिक अनुसन्धान हुने भएको छ।
न्यायाधीश डा। मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले बिहीबार जाहेरीमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको हो। यसअघि पनि २०७८ असोज १२ मा सर्वोच्चले सोही प्रकरणमा अनुसन्धान गर्न निर्देशन दिएको थियो।
कुमार पौडेलको मृत्यु भएपछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता गर्न खोजेकी थिइन्। तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो। पछि जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीमा दर्ता भएको जाहेरी पनि लामो समयसम्म अलपत्र परेको थियो।
जाहेरीमाथि अनुसन्धान नभएको भन्दै दुर्गादेवी पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्। करिब पाँच वर्षपछि सर्वोच्चले अनुसन्धान अघि बढाउन आदेश जारी गरेको हो।
अब जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीमा दर्ता भएको सो किटानी जाहेरीका आधारमा तत्कालीन गृहमन्त्री बादल, तत्कालीन प्रहरी महानिरीक्षक खनाल तथा घटनामा संलग्न प्रहरी अधिकारीहरूमाथि फौजदारी अनुसन्धान अघि बढाउनुपर्ने अवस्था बनेको छ।
पीडित पक्षका अनुसार तत्कालीन गृहमन्त्री बादलको निर्देशनपछि प्रहरी महानिरीक्षक खनालले प्रहरी मुख्यालयको विशेष ब्युरोबाट टोली खटाएर कुमार पौडेलको हत्या गराएको आरोप छ। यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगले पनि प्रहरी मुख्यालयबाटै टोली खटिएको उल्लेख गर्दै महानिरीक्षकको भूमिकामाथि प्रश्न उठाएको थियो।
यद्यपि किटानी जाहेरीमा उनीहरूको नाम प्रत्यक्ष रूपमा उल्लेख नभए पनि घटनाको विवरणमा उनीहरूको भूमिकामाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गरिएको छ।


