कालोसूचीको फरक मापदण्ड ? एक विजयी, अर्काको उम्मेदवारी नै रद्द
काठमाडौँ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका उम्मेदवार चुनाव जित्न सफल भएपछि निर्वाचन प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उदयपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्ति भए पनि निर्वाचन जित्न सफल भएका छन्।
उदयपुर–२ मा तामाङले १४ हजार ८०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायामाझी ले ७ हजार ६४८ मत प्राप्त गरे। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राई ले ७ हजार २९० मत प्राप्त गरे।
तर अर्कोतर्फ कर्जा सूचना केन्द्रकै कालोसूचीमा रहेका धनुषा–१ का प्रतिनिधिसभा उम्मेदवार किशोरी साह कमल को उम्मेदवारी भने खारेज गरिएको थियो। निर्वाचन आयोगले निर्वाचनको दुई दिनअघि मात्र उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।
एउटै कारणका आधारमा एक उम्मेदवार चुनाव जित्न सफल हुनु र अर्को उम्मेदवारलाई चुनाव लड्नै नदिइनुले निर्वाचन आयोगको मापदण्ड र निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ।
विशेषगरी कालोसूचीमा रहेका उम्मेदवारहरूबारे निर्वाचन कानुन स्पष्ट छैन कि आयोगले फरक व्यवहार गर्योरु भन्ने बहस राजनीतिक वृत्तमा चर्किन थालेको छ।
रास्वपाले उदयपुरको कटारी बजारमा व्यवसाय गर्दै आएका कटारी नगरपालिका–७ मर्जेतपुरका पर्यटन व्यवसायी तामाङलाई टिकट दिएको थियो । उनी कालोसूचीमा रहेको जानकारी पार्टीका नेताहरूलाई थियो । तर बाहिर बोलेका थिएनन् ।
विजयी भएपछि उनी कालोसूचीमा रहेको विषय बाहिर आएको हो । ‘मनोनयनका क्रममा पनि पार्टी भित्र कुरा उठेको हो । जसका कारण मनोनयन पनि अन्तिम समयमा गरिएको थियो,’ रास्वपा स्रोतले भन्यो, ‘उजुरी नपरेपछि यो विषय बाहिर आएन ।’
चुनाव जितेका तामाङ पर्यटन व्यवसायी हुन् । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार पटकपटक मकालु कान्जिरुवा अटो लिङ्क प्रालिबाट काटिएको चेक बाउन्स हुँदा सञ्चालक सूर्यकुमार तामाङ कालोसूचीमा परेका हुन् ।
कर्जा सूचना केन्द्रले जारी गरेको कालोसूचीको विवरणअनुसार १ लाख १ हजार ५१४ नम्बरमा मकालु कान्जिरुवा अटो लिङ्कको नाम छ । यसको सञ्चालकमा लिला राई र सूर्यबहादुर तामाङको नाम छ । उनको नाम २०८० माघ २५ गते कलोसूचीमा नाम चढेको छ । मकालु कान्जिरुवा अटो लिङ्कले त्रिथुङ्गा ट्रेडिङको नाममा माछापुच्छ्रे बैंकको खाताबाट काटेको २ लाख ५५ हजारको चेक बाउन्स भएको थियो ।
२०७९ फागुन १५ गते पनि कालोसूची नम्बर ५७८२३ मा मकालु कान्जिरुवा अटो लिङ्कले माछापुच्छ्रे बैंकबाट इस्टन एजेन्सिसलाई काटेको १ करोड ५५ लाखको चेक नसाटिएका कारण सञ्चालक सूर्यबहादुर कालोसूचीमा छन्।
२०८० भदौ ५ गते माछापुच्छ्रे बैंककै खाताबाट सुरेश श्रेष्ठको नाममा काटेको २२ लाख ५० हजारको चेक नसाटिएका कारण कम्पनी र सञ्चालक कालोसूचीमा छन् । प्रेमकुमार श्रेष्ठको नाममा काटिएको १३ लाख ५५ हजारको चेक बाउन्समा पनि २०८० भदौ ६ गते कालोसूचीमा नाम चढेको छ । २०७९ कात्तिक २५ गते पनि उनको नाम कालोसूचीमा चढेको छ । कालोसूची नम्बर ४८४१० मा पनि उनको नाम छ ।
रास्वपा उदयपुर स्रोतका अनुसार व्यवसायमा समस्या भएपछि उनी कालोसूचीमा परेका हुन् ।


