एनआरएनए आईसीसी युवा उपाध्यक्षमा पौडेलको उम्मेदवारी, युवालाई विश्वभर जोड्ने लक्ष्य
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को युवा उपाध्यक्ष पदका लागि मदनराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। आगामी मार्च १४ मा हुने एनआरएनएको एकता महाधिवेशनलाई लक्षित गर्दै उनले आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
विदेशमा रहेका नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरमा संगठित गर्दै एनआरएनए अभियानलाई थप सशक्त बनाउने लक्ष्यसहित आफूले उम्मेदवारी दिएको पौडेलले बताएका छन्। लामो समयदेखि प्रवासमा रहेका युवालाई एउटै सञ्जालमा जोड्दै उनीहरूको क्षमता, नेतृत्व र सक्रियतालाई प्रोत्साहन गर्ने उद्देश्य आफ्नो रहेको उनले स्पष्ट पारे।
पौडेलले भने,“एनआरएनएमा को आयो को गयो भन्नेभन्दा पनि विदेशमा रहेका ठूलो संख्याका युवालाई एउटै प्लेटफर्ममा जोड्ने र उनीहरूको नेतृत्व क्षमता विकास गर्ने लक्ष्यका साथ मैले युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।”
उनका अनुसार पछिल्लो समय नेपालमा युवा पुस्ता नै राजनीतिक र सामाजिक नेतृत्वमा अग्रसर भइरहेको सन्दर्भमा एनआरएनएमा पनि युवाको प्रभावकारी सहभागिता आवश्यक छ।
विश्वभरबाट भौतिक तथा अनलाइन मतदानमार्फत हुने चुनावमा आफूलाई विजयी गराउन उनले महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। यदि युवा उपाध्यक्षको जिम्मेवारी प्राप्त भए प्रवासमा रहेका नेपाली युवाका समस्या पहिचान गरी समाधानका लागि सक्रिय भूमिका खेल्ने उनले प्रतिबद्धता व्यक्त गरे।
नेपालमा रहँदा विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका पौडेल हाल जय नेपाल फाउण्डेसनको ग्लोबल युथ नेटवर्कका केन्द्रीय अध्यक्षसमेत हुन्। अष्ट्रेलियामा बसोबास गर्दै आएका उनले नेपालसहित विश्वभर रहेका नेपाली युवाको शैक्षिक, सामाजिक तथा व्यावसायिक विकासका लागि सहजीकरण गर्दै आएका छन्।


