राष्ट्रिय संवादको प्रस्ताव: मतगणनाअघि सहमतिको आधार तयार गरौँ – विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते राष्ट्रिय संवाद आयोजना गर्न प्रस्ताव गरेका छन्।
पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीका उम्मेदवारबीच प्रत्यक्ष बहस गराउने वातावरण बन्न नसकेको उल्लेख गर्दै कम्तीमा पनि मतगणनाअघि राष्ट्रिय स्तरमा संवाद गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “चुनाव सकिएको भोलिपल्ट मतगणना सुरु गर्नुअघि राष्ट्रिय बहस गरौँ। सरकारले चाह्यो र सबै राजनीतिक दलहरू सहमत भए राष्ट्रिय संवादका लागि हामी तयार छौँ।”
उनका अनुसार बाकस खोल्नुअघि नै सुशासनका साझा प्रतिबद्धता तय गर्न, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने विषयमा स्पष्टता ल्याउन, आलोपालोको परम्परा तोडेर पाँच वर्ष टिक्ने स्थिर सरकार निर्माण गर्न तथा जेनजीसहित समग्र समाजका मुद्दामा साझा धारणा बनाउन यस्तो संवाद आवश्यक छ।
शर्माले फागुन २२ गतेसम्म सबै दलहरू एउटै समझदारीमा पुगेर पहिलो संसद् बैठकबाटै सहमत एजेन्डा कार्यान्वयन गर्न सकिने बताए।
उनले राष्ट्रिय सहमतिलाई राजनीतिक प्रतिस्पर्धाको विकल्प नभई लोकतान्त्रिक परिपक्वताको आधारका रूपमा लिन आग्रह गर्दै चुनावपछि सहकार्य र स्थायित्वतर्फ अघि बढ्न दलहरूलाई आह्वान गरे।


