१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

ड्यामसाइडमा सुटकेसभित्र युवतीको शव : श्रीमान् भनिएका व्यक्ति फरार


664
Shares

पोखरा,१७ फागुन । पर्यटकीय शहर पोखरामा आइतबार बिहान एक युवतीको शव सुटकेसभित्र फेला परेपछि क्षेत्र स्तब्ध बनेको छ। पोखरा–१७ ड्यामसाइडनजिकै पुलमुनि शंकास्पद अवस्थामा फालिएको सुटकेसबाट तन्नाले बेरिएको युवतीको शव भेटिएको हो।

स्थानीयवासीले पुलमुनि बेवारिसे अवस्थामा सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले सुटकेस खोलेर हेर्दा युवतीको शव फेला परेको जनाएको छ। उक्त सुटकेस फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामाथि बनेको नयाँ पुलमुनि फालिएको अवस्थामा भेटिएको थियो।

प्रहरीका अनुसार मृतक करिब २२ देखि २५ वर्ष उमेर समूहकी देखिन्छिन्। उनको हातमा “मनिषा विश्वकर्मा” लेखिएको ट्याटु रहेको छ भने साथबाट मेडिकल कार्डसमेत बरामद भएको छ। प्रारम्भिक अनुसन्धानले युवतीको हत्या गरी शव तन्नाले बेरेर सुटकेसभित्र राखी फालिएको हुन सक्ने संकेत गरेको छ।

शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणबाट घटनाका बेला युवती महिनावारीको अवस्थामा रहेको जानकारी प्रहरी स्रोतले दिएको छ।

अनुसन्धानका क्रममा ती युवती ड्यामसाइड क्षेत्रकै एक घरमा कोठा भाडामा लिएर बस्ने गरेको खुलेको छ। घरबेटीका अनुसार उनीहरू श्रीमान्–श्रीमतीको रूपमा परिचय दिएर बसेका थिए र जापानी भाषा अध्ययन गर्ने बताएका थिए। उनीहरूले करिब एक महिनाअघि मात्र कोठा भाडामा लिएको पाइएको छ।

घटनापछि श्रीमान् भनिएका व्यक्ति सम्पर्कविहीन भएका छन्। उनको परिचय खुलाउने आधार कार्ड भारतको सिलगुडीको देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्या गरेर शव लुकाउने प्रयासपछि उनी फरार भएको आशंका गरिएको छ।

घटनाबारे नेपाल प्रहरीले गहन अनुसन्धान अघि बढाएको छ। मृतकका परिवारजन अहिलेसम्म सम्पर्कमा नआएको र पोस्टमार्टम रिपोर्टपछि थप तथ्य सार्वजनिक हुने प्रहरीले जनाएको छ।

पर्यटनको मुख्य केन्द्र मानिने पोखरामा यस प्रकारको क्रूर घटनाले स्थानीयवासीमा त्रास र चासो दुवै बढाएको छ। प्रहरीले फरार व्यक्तिको खोजी तीव्र पार्दै घटनाको वास्तविक कारण पत्ता लगाउने कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया