नेपाली नागरिकको सुरक्षाका लागि कूटनीतिक पहल तत्काल गर्न रायमाझीको माग
काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । विभिन्न देशमा रोजगारीका लागि पुगेका नेपालीहरू सम्भावित जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले तत्काल प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने उनको माग छ ।
लेखक समेत रहेका रायमाझीले सरकारले सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूलाई सक्रिय रूपमा परिचालन गरी नेपालीहरूको अवस्थाबारे यथार्थ जानकारी संकलन गर्न, आवश्यक परे उद्धार तथा आपत्कालीन राहतको व्यवस्था मिलाउनुपर्ने बताएका छन्।
द्वन्द्वको प्रभाव बढ्दै गएमा श्रमिकहरू बसोबास गर्ने क्षेत्र, कार्यस्थल तथा आवतजावतका मार्गहरू असुरक्षित हुन सक्ने भएकाले समयमै तयारी आवश्यक रहेको उनको भनाइ छ।
विदेशमा श्रम गरिरहेका धेरै नेपाली बाध्यतावश स्वदेश छोडेर गएका स्मरण गराउँदै, रायमाझीले जीवनरक्षा राज्यको प्राथमिक दायित्व भएकोमा स्मरण गराएका छन। “विदेशमा रहेका कुनै पनि नेपालीले युद्ध वा विपद्का कारण ज्यान गुमाउन नपरोस्, सरकार संवेदनशील र जिम्मेवार बन्नुपर्छ,” उनले विज्ञप्तीमा उल्लेख गरेका छन्।
यस्तै, मध्यपूर्वस्थित नेपाली कूटनीतिक नियोगहरूलाई स्थानीय सरकार, रोजगारदाता कम्पनी तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय बढाएर नेपालीहरूको सुरक्षा, बसोबास, स्वास्थ्य सेवा र आवश्यक परे सुरक्षित स्थानान्तरणको तयारी गर्न समेत उनको आग्रह छ।
द्वन्द्वका बेला सूचना अभावले थप समस्या निम्त्याउने भएकाले नियमित सूचना प्रवाह, आपत्कालीन सम्पर्क व्यवस्था र सहायता संयन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
सरोकारवालाहरूले सबै क्षेत्रबाट सचेतना, सहकार्य र एकताबद्ध पहल जरुरी रहेको भन्दै “नेपाली नेपालीको साथमा उभिने समय आएको” बताएका छन्।


