होलीकै दिन प्रधानमन्त्री दाबेदारबीच एजेन्डामा प्रतिस्पर्धा गर्न कांग्रेसको आह्वान
पोखरा । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारका लागि प्रधानमन्त्री घोषणा गरिएका नेताहरूबीच सार्वजनिक बहस गर्न प्रस्ताव अघि सारेको छ । पार्टीले फागुन १८ गते होलीका दिन राजधानीको खुलामञ्च मा खुला मञ्च बहस आयोजना गरौं भन्ने औपचारिक आह्वान गरेको हो ।
शुक्रबार कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले निर्वाचनपछि नेतृत्व गर्ने दाबी गरेका शक्तिहरूबीच नीतिगत प्रतिस्पर्धा आवश्यक रहेको बताए । उनले मतदातासामु आगामी पाँच वर्षको स्पष्ट कार्ययोजना प्रस्तुत गर्न सार्वजनिक बहस नै सबैभन्दा उपयुक्त माध्यम हुने धारणा राखे ।
शर्माले राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोपभन्दा एजेन्डा, दृष्टिकोण र कार्यान्वयन क्षमतामा प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै होलीको अवसरलाई लोकतान्त्रिक उत्सवका रूपमा रूपान्तरण गर्न प्रस्ताव गरिएको बताए । “सँगै रंग खेलौं, तर देश बनाउने योजनामा खुला रूपमा बहस पनि गरौं,” उनले भने ।
कांग्रेसले यस्तो बहसले मतदातालाई सूचित निर्णय लिन सहयोग पुग्ने, दलहरूलाई जवाफदेही बनाउने र आगामी संसद्को पाँच वर्षे कार्यकालका प्राथमिकता स्पष्ट पार्ने विश्वास व्यक्त गरेको छ ।
यस प्रस्तावप्रति अन्य दलहरूको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ । राजनीतिक वृत्तमा भने यसलाई निर्वाचनअघिको नयाँ शैलीको लोकतान्त्रिक अभ्यासका रूपमा हेरिएको छ ।


