तनहुँको भविष्यबारे काठमाडौँमा कांग्रेसको शक्ति प्रदर्शन
News Summary
- काठमाडौँमा आयोजित भेलामा नेपाली कांग्रेस ले तनहुँ को विकास, स्थायित्व र अनुभवी नेतृत्व रोज्न मतदातालाई आह्वान गरेको छ।
- राजधानी काठमाडौँ मा जुटेका तनहुँबासीहरूले दीर्घकालीन योजना र परिणाममुखी नेतृत्वबाट मात्रै समृद्धि सम्भव हुने धारणा व्यक्त गरे।
- महामन्त्री प्रदीप पौडेल ले लोकतन्त्र सुदृढीकरण, स्थिर सरकार र तीव्र विकासका लागि कांग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।
काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै तनहुँको विकास र राजनीतिक दिशा तय गर्ने उद्देश्यका साथ काठमाडौँमा बसोबास गर्ने तनहुँबासीहरू एकै स्थानमा जुटेका छन्। नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको विशेष भेलाले भावनात्मक र राजनीतिक दुवै सन्देश दिएको छ— “अब सक्कली सुन र पित्तल छुट्याउने बेला आएको छ।”
भेलामा सहभागी मतदाताहरूले निर्वाचनका बेला मात्रै देखिने होइन, कठिन समयमा साथ दिने र दीर्घकालीन विकासको स्पष्ट दृष्टि भएका नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले तनहुँको विकासका लागि अनुभवी र परिणाममुखी नेतृत्व रोज्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले देशको वर्तमान राजनीतिक अवस्थालाई स्थायित्वतर्फ लैजान कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए। तनहुँको शुक्लागण्डकी–९ ढोरफिर्दी स्थायी घर भएपनि हाल काठमाडौं–५ का उम्मेदवार पौडेलले लोकतन्त्र सुदृढीकरण र स्थिर सरकारका लागि र तनहुँको विकास यात्रालाई तीव्र बनाउन पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेलले नाराभन्दा योजना र अनुभवले मात्रै विकास सम्भव हुने बताउँदै दिगो समृद्धिका लागि परीक्षण भइसकेको नेतृत्व रोज्नुपर्ने धारणा राखे। उनका अनुसार सुशासन, योजना र कार्यान्वयनबीचको समन्वय बिना स्थानीय विकास सम्भव छैन।

त्यसैगरी, तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराई ले काठमाडौँमा देखिएको मतदाताको उत्साहले आफू भावुक भएको बताउँदै यसले परिवर्तनको स्पष्ट संकेत दिएको उल्लेख गरे। उनले कांग्रेसभित्र आएको रूपान्तरणसँगै अब तनहुँलाई बदल्ने जिम्मेवारी साझा भएको धारणा राखे।

त्यसैगरी क्षेत्र नम्बर २ का उम्मेदवार शंकर भण्डारी लाई पनि सहभागीहरूले “गफभन्दा काम गर्ने नेता” का रूपमा चित्रित गर्दै विकासप्रेमी नेतृत्वको निरन्तरतामा जोड दिएका थिए।
भेलामा अन्य वक्ताहरूले सक्षम नेतृत्व, स्पष्ट विकास दृष्टि र जनतासँगको निरन्तर सम्बन्धलाई आगामी निर्वाचनको मुख्य आधार बनाउनुपर्ने बताएका थिए। सम्पर्क समितिका अध्यक्ष उत्तम मिश्रले तनहुँको समृद्धि, पूर्वाधार विकास, रोजगारी सिर्जना र सुशासनका मुद्दामा केन्द्रित भएर अघि बढ्न कांग्रेसका उम्मेदवारहरुको विकल्प नरहेको स्पष्ट पारे ।
काठमाडौँमा आयोजित यो भेलालाई सहभागीहरूले केवल राजनीतिक कार्यक्रम नभई तनहुँको भविष्य कोर्ने साझा संकल्पका रूपमा व्याख्या गरेका छन्।



