२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

दमौलीको ऐतिहासिक विरासत जोगाउन बदलिएको काँग्रेसको विजय अपरिहार्य : गोविन्द भट्टराई


February 17, 2026
166
Shares

दमौली। काँग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले दमौलीको ऐतिहासिक विरासत, लोकतान्त्रिक पहिचान र आधुनिक विकास यात्रालाई निरन्तरता दिन बदलिएको काँग्रेसको विजय अपरिहार्य रहेको बताउनुभएको छ।

व्यास नगरपालिका–२ स्थित चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उहाँले विगतको गौरवलाई आत्मसात् गर्दै काँग्रेस नयाँ सोच, नयाँ नेतृत्वशैली र जनउत्तरदायी प्रतिबद्धतासहित अघि बढेको उल्लेख गर्नुभयो।

“दमौली केवल व्यापारिक केन्द्र होइन, यो लोकतन्त्रका आन्दोलनहरूको धरोहर हो,” भट्टराईले भन्नुभयो, “२००७ सालपछिका हरेक परिवर्तनकारी आन्दोलनमा दमौली अग्रपंक्तिमा रह्यो। २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२र६३ को ऐतिहासिक परिवर्तनले यस क्षेत्रलाई राष्ट्रिय राजनीतिक मानचित्रमा स्थापित गरेको छ।” उहाँका अनुसार दमौली बजारको गुरुयोजना, व्यवस्थित नक्सांकन र पूर्वाधार विस्तार काँग्रेसकै नेतृत्वमा सम्भव भएको हो।

भट्टराईले अहिलेको काँग्रेस विगतका कमजोरी सच्याउँदै संगठनात्मक रूपले सुदृढ, नीतिगत रूपमा स्पष्ट र जनताप्रति जवाफदेही बनेर आएको दाबी गर्नुभयो। “हामी बदलिएका छौं, अब परिणाम देखिने गरी काम गर्छौं,” उहाँले भन्नुभयो, “सदरमुकामको व्यवस्थित विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र युवामैत्री कार्यक्रम हाम्रो प्राथमिकतामा छन्।”

कार्यक्रममा बोल्दै तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले वर्तमान राजनीतिक अन्योलका बीच स्थायित्व, आर्थिक चलायमानता र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्न काँग्रेसको सशक्त उपस्थितिको आवश्यकता औंल्याउनुभयो। “नेपाली काँग्रेस परिमार्जित र परिपक्व भएर आएको छ,” उहाँले भन्नुभयो, “व्यवसायी र आम नागरिकको भरोसा पुनः काँग्रेसमै केन्द्रित हुँदैछ।”

वडा नम्बर २ का वडा सभापति टुकराज हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले दमौलीको ऐतिहासिक पहिचान जोगाउँदै समृद्ध तनहुँ निर्माणका लागि यसपटक अत्यधिक मतसहित काँग्रेसलाई विजयी गराउन आह्वान गरेका थिए।

प्रतिक्रिया