कांग्रेसको चुनावी सभाका लागि मुख्य वक्ता गगन र विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसले पार्टीले गर्ने चुनावी सभाका लागि मुख्य वक्ताको रुपमा सभापति र उपसभापतिलाई अघि सार्ने भएको छ । केन्द्रीय कार्यसमितिबाट पहिलो पटक भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा होमिएको कांग्रेसले फागुन ७ गते जनकपुरमा मधेस सभा गरेर चुनावी सभाको सुरुवात गर्दैछ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारका लागि समय तय गरेको छ । त्यसबेला हुने सभाहरूका लागि कांग्रेसले वक्ताहरू पनि तय गरेको हो ।
कांग्रेसमा प्रायः निर्वाचन परिचालन समितिको संयोजक प्रमुख वक्ता हुँदै आए पनि कांग्रेसले यो निर्वाचनका लागि भने उपसभापति विश्वप्रकाश शर्मा र सभापति गगन थापालाई ठुला सभाहरूमा वक्ता बनाउने भएको हो ।
यो पटक कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार केन्द्रीय कार्यसमितिबाट घोषणा गरिसकेको छ ।


