प्रखर वक्तादेखि शक्ति संरचनासम्म: गगन थापाको चुनौतीपूर्ण यात्रा
काठमाडौं । प्रखर वक्तृत्व, वैचारिक स्पष्टता र सडक आन्दोलनको कठोर अनुभव—यी तीन तत्वले गगन थापालाई समकालीन नेपाली राजनीतिमा छुट्टै पहिचान दिलाएका छन्। जनआन्दोलन–२ बाट राष्ट्रिय राजनीतिमा उदाएका थापा आज नेपाली काँग्रेसको नेतृत्व तहमा पुगेका मात्र छैनन्, पार्टीभित्र पुस्तान्तरण र सुधारको प्रतीकका रूपमा पनि हेरिन्छन्।
२०३३ सालमा काठमाडौंको प्रसूति गृहमा जन्मिएका गगन थापाको बाल्यकाल केही समय सिन्धुपाल्चोकमा बित्यो। नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर रहेका पिता महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाको परिवारमा हुर्किएका गगनका दाजु–भाइ सबै प्राविधिक पृष्ठभूमिका छन्। परिवारको चाहना पनि गगन डाक्टर वा इन्जिनियर नै बनून् भन्ने थियो। तर, जीवनले उनलाई फरक बाटोमा डोर्यायो—राजनीतिमा।
विद्यालय जीवनमै २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थापा त्यतिबेला कक्षा ९ का विद्यार्थी थिए। सुरुआतमा राजनीतिलाई करियर बनाउने सोच नभए पनि आन्दोलनले उनलाई सामाजिक परिवर्तनको धारमा तान्यो। यही झुकावले उनलाई नेविसंघ हुँदै काँग्रेसको केन्द्रीय राजनीतिसम्म पुर्यायो।
इन्जिनियरिङ अध्ययन छोडेर त्रिचन्द्र क्याम्पसबाट विज्ञानमा स्नातक र त्रिविबाट मानवशास्त्र–समाजशास्त्रमा स्नातकोत्तर गरेका थापा विद्यार्थी राजनीतिमा लगातार अगाडि बढे। २०५१ सालमा त्रिचन्द्र क्याम्पस स्ववियु सदस्य, २०५३ मा सचिव र २०५५ मा सभापति बनेपछि उनी नेविसंघको राष्ट्रिय राजनीतिमा स्थापित भए। चितवन महाधिवेशनबाट उपाध्यक्ष र वीरगञ्ज महाधिवेशनबाट महामन्त्री बनेका थापा २०५९–२०६१ सम्म संगठनको मुख्य कमाण्डमा रहे।
यही कालखण्डमा उनी राजतन्त्रविरुद्धको आन्दोलनका अग्रपंक्तिका नेता बने। सडक आन्दोलनको नेतृत्व गर्दा पटक–पटक घाइते, हिरासत र राजकाज मुद्दाको सामना गर्नुपरेको इतिहासले थापाको राजनीतिक चरित्रलाई ‘संघर्षबाट खारिएको’ बनाएको छ। शाही शासनविरुद्ध विद्यार्थी र युवाको मोर्चा सम्हाल्ने नेताका रूपमा उनी जनआन्दोलनका नायकमध्ये एक बने।
संविधानसभा हुँदै प्रतिनिधिसभा सांसद बनेपछि थापाले ‘लिभेबल काठमाडौं’ अभियानजस्ता शहरी मुद्दालाई राष्ट्रिय बहसमा ल्याए। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा उनले राजनीति केवल नारामा होइन, नीतिमा देखिनुपर्छ भन्ने सन्देश दिन खोजे।
२०६५ सालमा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीकी छोरी अञ्जना केसीसँग विवाह गरेका थापा राजनीतिक र पारिवारिक जीवन दुवैमा स्थापित देखिन्छन्। तर, उनीप्रतिको मूल्यांकन सधैं प्रशंसामा मात्र सीमित छैन। पार्टीभित्र सुधारवादी धारको नेतृत्व गरे पनि निर्णय क्षमतामा कडाइ र कार्यान्वयनमा प्रभावकारिता अझै परीक्षा कै चरणमा रहेको विश्लेषकहरू बताउँछन्।
आज गगन थापा केवल एक नेता होइनन्, बहसको केन्द्र हुन्—कहिले आशा, कहिले चुनौती। प्रश्न एउटै छ स् आन्दोलनबाट सत्तासम्म आइपुगेका गगन थापा अब भाषणको प्रभावलाई नीति र परिणाममा रूपान्तरण गर्न कति सफल हुन्छन् रु यही उत्तरले उनको राजनीतिक भविष्य मात्र होइन, नेपाली काँग्रेसको दिशा पनि तय गर्नेछ।


