बालेनलाई भ्रष्ट हुन नदिन प्रश्न आवश्यक छ !
सचिना बानियाँ । नेपालको राजनीतिक इतिहासले बारम्बार एउटै सत्य दोहोर्याउँदै आएको छ—नायकहरू समयअनुसार बदलिन्छन्, तर अन्धभक्तिले जन्माउने जोखिम स्थायी हुन्छ। पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति देखिएको जनआकर्षणले फेरि यही बहसलाई सतहमा ल्याएको छ—के हामी फेरि एकपटक प्रश्न गर्न बिर्सँदैछौं ?
बालेन शाहको गाडीको स्रोतबारे प्रश्न उठ्दा त्यसलाई ‘रिसाउने विषय’ ठानिनु स्वयंमा चिन्ताजनक संकेत हो। सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आय–व्ययबारे प्रश्न गर्नु लोकतान्त्रिक अभ्यास हो, आक्रमण होइन। बालेनलाई भ्रष्ट हुन नदिनकै लागि प्रश्न आवश्यक छ, चाहे उनले सार्वजनिक रूपमा प्रतिक्रिया नदिए पनि।
इतिहास फर्केर हेर्दा, यस्ता ‘क्रेज’ नयाँ होइनन्। २०६२–६३ सालतिर पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनआन्दोलनका नायक थिए। २०७२ सालको संविधान निर्माणपछि केपी शर्मा ओली राष्ट्रवादी नाराका केन्द्र बने। आज २०८२ सालतिर आइपुग्दा त्यो आकर्षण बालेन शाहतर्फ केन्द्रित देखिन्छ। समस्या नायक बन्नु होइन, समस्या नायकलाई प्रश्नभन्दा माथि राख्नु हो।
हाम्रो समाज नायक खोजिरहेको समाज हो, तर त्यही समाजले प्रत्येक दशकमा आफ्नै नायकलाई खलनायकमा रूपान्तरण गरेको इतिहास पनि बोकेको छ। त्यसैले लोकतन्त्रमा ‘संशय’ कमजोरी होइन, सुरक्षा कवच हो।
यस सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र त्यसका कार्यकर्ताहरूले विशेष सजगता अपनाउनुपर्ने देखिन्छ। देश अस्तव्यस्त अवस्थामा रहेका बेला केही आशा जोगाएका रास्वपाका कार्यकर्ताहरूले अन्धभक्तिको बाटो समात्नु घातक हुन सक्छ। नागरिकको आलोचना सुन्नु, प्रश्नको उत्तर दिनु—यही नै नयाँ राजनीति गर्ने दाबीको वास्तविक परीक्षा हो। अन्यथा, नयाँ दल पनि पुराना दलहरूजस्तै बन्न धेरै समय लाग्ने छैन।
रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको सम्भावित दाबेदारका रूपमा अघि सारेको छ। झापा–५ बाट उनको सम्भावित उम्मेदवारीले राजनीतिक वृत्तमा नयाँ आशा जगाएको सत्य हो। पुराना दलहरूको दलतन्त्रबाट आजित नागरिकहरूले नयाँ आवाजलाई समर्थन गर्नु स्वाभाविक पनि हो। तर एमाले, काँग्रेस, माओवादी वा रास्वपा—कुनै पनि दल र नेतृत्व प्रश्नभन्दा बाहिर हुन सक्दैन।
हिजोका दिनमा युवाहरूले सडकमा उत्रिएर ‘व्यवस्था होइन, प्रवृत्ति बदल’ भन्ने नारा लगाए। यदि आज त्यही प्रवृत्तिको नयाँ संस्करणलाई फरक नाम र अनुहारका कारण जयजयकार गरिँदैछ भने, त्यो हाम्रो आफ्नै इतिहासप्रति व्यङ्ग्य हुनेछ।
हाम्रो लागि प्रधानमन्त्री बालेन बनून्, गगन थापा बनून्, प्रचण्ड बनून् वा अन्य कोही—नाम र अनुहारभन्दा ठूलो कुरा नागरिकको भूमिका हो। यदि नागरिकले प्रश्न गरेनन् भने, जुनसुकै नेतृत्व पनि तानाशाही बन्न समय लाग्दैन।
त्यसैले नयाँ आशालाई जोगाउन प्रश्न जोगाउनु आवश्यक छ। नागरिकले प्रश्न गर्नुपर्छ, नेतृत्वले उत्तर दिनुपर्छ। नत्र तिनै तानाशाही प्रवृत्तिहरू नयाँ नाम, नयाँ झण्डा र नयाँ भाषणसहित फेरि फर्किनेछन्। लोकतन्त्र अन्धभक्तिले होइन, सचेत नागरिकताले बाँच्ने व्यवस्था हो।


