१० माघ २०८२, शनिबार | January 24, 2026

सपना बेच्ने पसलहरू र हार्ने राष्ट्र


January 24, 2026
4.2k
Shares

प्रकाश रायमाझी । प्रजातन्त्रको अभ्यास हुनु राम्रो हो । तर नेपालको परिप्रेक्ष्यमा दलीय प्रजातन्त्रको नाममा असङ्ख्य सपना बेच्ने पसलहरू खुले, नेतामुखी कम्पनीहरू खुले । देश हार्ने, व्यक्ति जित्ने चुनाव ०४६ सालदेखि निरन्तर हुँदै आएको छ । दल जिते पनि देश हार्ने, दलले जिते पनि दलका नेता कानुनभन्दा माथि हुने अवस्था कायम छ । यस्तो अवस्थामा प्रजातन्त्रको अभ्यास हामी कहाँ भइरहेको छ ?

गरिबी, विपन्नता र बेरोजगारीको समस्या झन्–झन् चरम बन्दै गएको छ । कालोलाई सेतो र सेतोलाई कालो बनाउने न्यायलीला मौलाएको छ । बिचौलियामार्फत न्याय खरिद गर्नुपर्ने न्यायनिसाफ झाँगिएको छ । अहिले देश चुनावमय भएको छ । हरेक व्यक्ति पदमा पुगेर राज्यशक्तिको स्वाद चाख्न आतुर देखिन्छ । चुनाव जित्नैपर्छ—कमाउनको लागि । सपना बाँड्ने अनेकौँ पसलहरू खुलेका छन् ।

थोत्रा अनुहारहरू—देश लुटेर कंगाल बनाउने केपी, शेरबहादुर, प्रचण्ड जस्ता कथित नेताहरूले जनताको मर्म र पीडालाई राज्यशक्तिको आडमा दबाउँदै देशलाई भ्रष्टाचार र कुशासनको भुमरीमा डुबाइरहेका छन् । जनक्रोशको ज्वाला भदौ २४ गते सर्वत्र फैलिँदा पनि यिनलाई अझै चेत आएको छैन । हरेक नवजवानलाई विदेशीको एजेन्ट ठहर गरियो । ओठे राष्ट्रवाद र कोठे देशभक्तिले अझै पनि जनतालाई भ्रममा पार्ने प्रयास जारी छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा सामान्य माग राख्दै आवाज उठाएका नवजवान युवाहरूलाई दबाउन हजारौँ गोली वर्षा गरियो । निर्दोष, निरपराध, होनहार कलिला युवाहरू मारिँदा पनि केपी ओली एण्ड कम्पनीलाई आत्मग्लानि र हिनताबोध भएको देखिँदैन । भ्रष्ट कुशासनकै कारण देश जलेको घटनालाई विदेशी डिजाइन भन्दै अतिरञ्जित गरेर आफू पानीमाथिको ओभानो बन्ने प्रयास गरिँदै छ ।

केपी ओली जस्तो गैरजिम्मेवार व्यक्तिले सबैलाई विदेशी एजेन्ट भन्दै नक्कली राष्ट्रवादको खोल ओढ्दा हामीले पत्याइदिनुपर्ने रु यिनै कथित व्यक्तिहरूले संविधान, ऐन–कानुन र राज्य व्यवस्थालाई देश लुट्ने औजारका रूपमा प्रयोग गर्दा पनि हामी तमासा हेरेर बसेका छौँ ।

दलीय राजनीतिमा नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रको अभ्यासको नामोनिशान मेटिएको छ । एमाले ओलीको निजी कम्पनी बनेको छ । कांग्रेस शेरबहादुरको कम्पनी बन्यो, गगनहरूले टुक्र्याइदिए । एमालेमा विचारको विमर्श त भयो, तर अधिवेशनमार्फत नेतृत्व परिवर्तन गराउने आँट देखिएन । अहिले रवि लामिछाने, बालेन शाहहरू जुर्मुराउँदा झापामा ओलीलाई खपिनसक्नु भएको छ ।

स्वच्छ प्रतिस्पर्धा र वैचारिक लडाइँमा उभिन नसकेपछि मिथ्या आरोप र खोक्रो राष्ट्रवादको ढोल पिट्ने पुरानै संस्कार दोहोरिएको छ । ०७२ को संविधान अन्तर्गत हुने निर्वाचनमार्फत वैकल्पिक शक्ति उदाउन सक्दैन । कुत्सित मनसायबाट बनेको संविधानले सिंगो नेपालीको मनोभावना, सभ्यता र संस्कृतिलाई आत्मसात् गर्न सकेन ।

दलीय भागबण्डा, दलालीकरण र बिचौलियाको सर्वत्र उदय भएको यो राजनीतिक परिप्रेक्ष्यमा यो निर्वाचनले देशलाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको निकास दिन सक्दैन । निर्वाचनपछि फेरि उही दलीय किचलो, उही भ्रष्ट संरचनाभित्र तछाडमछाड गर्दै देशको अमूल्य समय खेर जानेछ ।

जबसम्म राजनीतिक अज्ञानता, दलीय स्वार्थ र व्यक्तिगत महत्वाकांक्षा हावी रहन्छ, मुलुक शान्ति, स्थायित्व र विकासको मार्गमा अग्रसर हुन सक्दैन । गरिबी, पछौटेपन र राजनीतिक अस्थिरता यही दलीय व्यवस्थाको प्रतिफल हुन् । ३७ वर्षसम्म पनि मुलुक आत्मनिर्भर नहुनु, आन्तरिक रोजगारी सिर्जना नहुनुका मूल कारण यिनै दलीय नेताहरू हुन् ।

शेरबहादुरको घरमा डढेको पैसा शेरबहादुरको होइन—खाडीमा बेचिएका युवाहरूको रगत र पसिनाबाट बनेको कालो धन थियो । त्यो पैसाले देशको मुहार फेरिन सक्थ्यो, यदि उनी इमानदार नेता भएको भए । तर घरमै राष्ट्र बैंक बनाए—कालो धनको । सत्ताको नशामा देश बरबाद पारियो । यिनीहरू आज कैदमा हुनुपर्ने थिए—त्यही जेनी पुस्ताको रगतको माग थियो ।

युवाहरूले कुशासन र भ्रष्टाचारविरुद्ध सहादत प्राप्त गरे । परिणाम रु बिचौलिया, व्यापारी, एनजीओ, आइएनजी र दलालहरूको हालीमुहाली । जेनी आन्दोलनका घटनाको छानबिन गर्ने नाममा गौरीबहादुरजस्ता थोत्रा पात्रलाई अगाडि सारेर झुटो आयोग बनाइयो—केपी, शेरबहादुर, प्रचण्ड जस्ता अपराधीहरूलाई उन्मुक्ति दिन । देशलाई फेरि चुनावतर्फ धकेलियो ।

उही अस्थिरता, उही कुशासन, उही पात्रहरू चुनावी मैदानमा । देशले हार्ने निर्वाचनबाट के अपेक्षा गर्ने रु यो संविधान, यो प्रणाली र यी खलपात्रहरूलाई कारागारमा नराखी निर्वाचनबाट सुखद भविष्यको अपेक्षा गर्न सकिँदैन । चुनाव गराउनु जेन्जी आन्दोलनको एजेन्डा थिएन । चुनाव गर्दा पनि ठूलो परिवर्तन आउने छैन ।

विदेशी हस्तक्षेपको दोष थोपरेर यी आन्तरिक फिरङ्गीहरूलाई उन्मुक्ति दिने रु ४६ सालमा भारतीय नेता चन्द्रशेखरको नेतृत्वमा आएको परिवर्तनले पनि देशलाई स्थायित्व दिन सकेन । दलीय प्रजातन्त्रको नाममा सपना बेच्ने पसलहरू फेरि खुलेका छन् । देश हार्ने, व्यक्ति जित्ने चुनाव दोहोरिइरहेकै छ ।

(रायमाझी राजनीतिक विश्लेषक हुन् ।)

प्रतिक्रिया