२३ पुस २०८२, बुधबार | January 8, 2026

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : रक्षा बम


January 6, 2026
166
Shares

काठमाडौं । जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसभित्रको महाधिवेशन विवादबारे ंकडा टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक बमले कांग्रेसभित्र विशेष महाधिवेशन अपरिहार्य भएको उल्लेख गरेकी छिन् ।

केहीदिनअघि मात्रै बमसहित केही जेनजीका प्रतिनिधिहरुले कांग्रेस महामन्त्री गगनकुमार थापासँग भेटवार्ता गरेका थिए । उनले कांग्रेसको नियमित महाधिवेशन रोज्नेहरूले जेनजी आन्दोलनलाई अस्वीकार गरिरहेको बताएकी हुन् ।

बमले नेपाली राजनीतिमा ‘नियमिततामा ब्रेक’ भदौ २३ गते नै लागिसकेको दाबी गरेकी छन्। कांग्रेसका गृहमन्त्री सम्मिलित तत्कालीन सरकारले निहत्था विद्यार्थीमाथि गोली चलाएको घटनालाई स्मरण गराउँदै उनले राजनीति अब सामान्य अवस्थाभन्दा धेरै पर पुगिसकेको बताएकी छन्।

भदौ २३ को घटना लामो समयदेखिको राज्यको बेथिति, अकर्मण्यता र निराशाको परिणाम भएको र त्यसमा कांग्रेस पनि हिस्सेदार रहेको उनको आरोप छ।

अहिले कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयमा विवाद भइरहेको सन्दर्भमा बमले विशेष महाधिवेशनको पक्षमा वकालत गरेकी छन्।

एमालेले विधान लत्त्याउँदै पुरानै नेतृत्वलाई निर्वाचित गरेर ‘मास डिप्रेसन’ बाँड्ने बाटो रोजिसकेको बमले टिप्पणी गरेकी छन्। उनले कांग्रेस नेतृत्वलाई प्रश्न गर्दै एमालेकै बाटोमा लागेर युवा पुस्तालाई धोका दिने कि देशको भविष्य कोर्ने बगैंचा निर्माणमा साथ दिने भन्दै सचेत गराएकी छन्। असाधारण राजनीतिक सङ्कटमा असाधारण निर्णय आवश्यक पर्ने भन्दै उनले विशेष महाधिवेशन अपरिहार्य रहेको जिकिर गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लखेकी छिन् ,

आदरणीय काँग्रेसीजन,
नियमिततामा ब्रेक त भदौ २३ मै लागेको थियो, जब तपाईंहरूका पार्टीका गृहमन्त्री सम्मिलित सरकारले निहत्था विद्यार्थीमाथि गोली चलाएको थियो। त्यसपछि नेपाली राजनीति नियमितताभन्दा धेरै पर पुगिसकेको छ। र अहिले हामी चुनावको संघारमा छौँ।

भदौ २३ यत्तिकै आएको थिएन। लामो समयदेखि जनताले राज्य र राज्य सञ्चालकहरूबाट जबरजस्ती बेहोर्नुपरेको बेथिति, अकर्मण्यता र निराशाको परिणाम थियो भदौ २३। जनताले तत्कालीन अवस्थामा भोगिरहेको स्वेच्छाचारिताको हिस्सेदार नेपाली काँग्रेस पनि भएकै हो। हामीले त्यो अवस्थाबाट देशलाई निकाल्नका लागि परिवर्तनको माग गरेका थियौँ र छौँ।

यतिखेर तपाईंहरू आफ्नै पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा दुई खेमामा बाँडिनुभएको छ। हामी स्पष्ट छौँ, तपाईंहरू जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ। भदौ २३ मा काँग्रेसभित्रकै न्भल श् साथीहरू पनि परिवर्तनको माग गर्दै सडकमा उत्रिनुभएको थियो।उहांहरू आज पनि परिवर्तनको पक्षमा बोलिरहनु भएकै छ र तपाईंहरूले त्यो आवाज पनि निस्तेज पार्न खोजेको जस्तो देखिन्छ।

परिवर्तनका लागि आवाज उठाउँदा जनताका छोराछोरीहरू मारिएका छन्। देशको युवापुस्ता घाइते भएको छ।निराशाको लामो औँसीबाट हामीले थोरै आशाको जून खोजिरहँदा, तपाईंहरूको यथास्थितिवादले सिङ्गो देशलाई मास डिप्रेसनमा पुर्‍याउने खतरा हामी देखिरहेका छौँ। नेकपा एमालेले यो मास डिप्रेसन बाँड्दै हिँडिरहेकै छ।आफ्नै विधानलाई लत्याउदै, फेरि पुरानै नेतृत्वलाई निर्वाचित गरेर एमालेले आफ्नो बाटो रोजिसकेको छ।अब तपाईंहरू पनि त्यही बाटो लाग्दै देशको युवापुस्तालाई धोका दिनुहुन्छ, कि देशको भविष्य कोर्ने सुन्दर बगैँचा निर्माणमा आफ्नो तर्फबाट साथ दिनुहुन्छ।हामी त्यो हेर्न पर्खिरहेका छौँ।

आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ, र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ। तपाईंहरूको आजको यात्राले नै तपाईंहरूको गन्तव्य तय गर्नेछ। याद रहोस्, चुनाव दैलोमै आइपुगेको छ, र यतिखेर मतदाताहरू परिवर्तनको पक्षमा आफ्नो मत खसाल्न तयार छन्।

प्रतिक्रिया