देउवालाई दिनेश कोइरालाको पत्र : तपाईले आशक्ति नदेखाउने हो भने महाधिवेशन विवाद चुट्कीको भरमा समाप्त हुन्छ
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य दिनेश कोइरालाले महाधिवेशन विवादबारे लामो सुझावसहित सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन् । नियमित वा विशेष महाधिवेशनको विवादको जरा देउवा भएको उनको भनाइ छ ।
सभापति देउवाले पद आशक्ति नदेखाए पार्टीभित्रको विग्रह समाप्त हुने कोइरालाले देउवालाई पत्र लेखेर पठाएका छन् ।
उनले पत्रका लेखेका छन्
आदरणीय शेरबहादुर देउवाज्यू
सभापति, नेपाली कांग्रेस
आदरणीय सभापति ज्यू,
आज देश संकटमा छ, नेपाली कांग्रेस पार्टी संकटमा छ, स्वयं तपाईंको व्यक्तित्व संकटमा छ । चौतर्फी संकटको यो बेला तपाईंलाई नेपाली कांग्रेसले मात्र नभएर सिंगो देशले हेरिरहेको छ । तपाईंको हरेक कदम यो देश र नेपाली कांग्रेस पार्टीका लागि निर्णायक बनेको छ । अहिले देश र नेपाली कांग्रेसका लागि हरेक दिन, हरेक घन्टा, हरेक मिनेट र हरेक सेकेण्ड असाध्यै महत्वको छ । यस्तो संगीन क्षणमा तपाईंले उच्चतम विवेक प्रयोग गर्नुपर्छ भनी सल्लाह दिन, आग्रह गर्न र दवाब दिन यो पत्र लेख्दैछु ।
अहिलेको अवस्थामा भदौ २३ र २४ पानीढलो हो, जहाँबाट अहिलेको यो समय र यो परिवेश प्रारम्भ भएको छ । त्यो दुई दिनको आन्दोलन, आतंक र विध्वंशको साक्षी समयको यो कालखण्डका हामी सबै हौं । त्यो कालखण्डमा तपाईंले झण्डै जीवन गुमाउनु परेको स्मरण गर्दा पनि हामी स्तब्ध हुन्छौं । त्यो क्षण र त्यसपछिका दिनहरुमा तपाईं एक्लै हुनुहुन्थ्यो, अहिले तपाईंलाई घेरा र उकेरा लगाएर बस्नेहरु त्यसबेला तपाईंको साथमा थिएनन् । उनीहरु सार्वजनिक रुपमा बोल्न पनि सकिरहेका थिएनन् । त्यस्तो बेला अग्रपंक्तिमा गएर सबैभन्दा पहिले आन्दोलन र विध्वंश दुईटा पक्ष छ, यसलाई बेग्लाबेग्लै रुपमा बुझ्नुपर्छ भनेको थिएँ । तपाईंमाथि भएको भौतिक आक्रमणको सबैभन्दा पहिले सार्वजनिक भतर््सना गर्ने पनि शायद म नै थिएँ । यो कुरा किन लेखिरहेको छु भने म जे लेख्न गइरहेको छु, जे आग्रह गर्न गइरहेको छु, तपाईंप्रति पूर्वाग्रह राखेर होइन ।
आदरणीय सभापतिज्यू,
राजनीतिमा हार र जितको निर्णय चुनावको मतगणनाले मात्र गर्दैन । लोकतन्त्रमा विचार, इमान र निष्ठा हार्यो भने मानिसले सबै चिज हार्छ । त्यसैले लोकतन्त्रमा चुनाव हार्दा पनि मानिसले राजनीति जितिरहेको हुन्छ । चुनाव जितेर पनि राजनीति हारिरहेको हुन्छ । राजनीतिमा जित प्लस जित इजिकल्टु जित नै हुन्छ भन्न सकिन्न । राजनीतिमा २ र २ जोड्दा ४ मात्र हुँदैन, ४४ पनि हुनसक्छ । र, राजनीतिमा २ र २ जोड्दा शुन्य पनि हुनसक्छ । तपाईंंलाई घेरा र उकेरा लगाइरहेकाहरुले यो कुरा बुझ्न सकिरहेका छैनन् । तपाईं वर्तमानमा संकटमा हुनुहुन्छ, यसकारण संकटमा हुनुहुन्छ कि तपाईंलाई घेरा हाल्नेहरु समयको प्रवाहलाई रोक्न खोजिरहेका छन् । समयको प्रवाहलाई रोक्ने प्रयासका कारण संकट उत्पन्न भएको हो ।
सभापतिज्यू, समयको प्रवाहलाई नरोक्नुस् । समयको प्रवाहलाई रोक्न खोजियो भने वर्तमान मात्र बगेर जाँदैन, इतिहास पनि बगेर जान्छ । जसले जतिसुकै आरोप लगाए पनि नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनमा तपाईंको योगदान सानो छैन । त्यो इतिहास पनि बगाउने दुष्कर्म तपाईंलाई घेरा र उकेरा लगाउनेहरुले गरिरहेका छन् ।
तपाईंले सक्रिय सभापति त्यागेर कार्यवाहक दिनुहँदा सबैले तपाईंको वाहवाही गरेका थिए । कांग्रेस र शेरबहादुर देउवाले समयको प्रवाहलाई सम्मान गर्यो भनेका थिए । कांग्रेस जुरुक्क उठ्ने आशा जागेको थियो । तर, तपाईंको पुनरागमनसँगै तपाईंलाई घेरा र उकेरा लगाउनेहरुले यस्तो परिवन्द सिर्जना गरेका छन्, नेपाली कांग्रेस झन् ठूलो संकटमा फसेको छ । घेरा र उकेरा लगाउनेहरुले आफ्नो स्वार्थका लागि तपाईंमा लोभ जगाइदिँदै छन्, आफ्नो स्वार्थका लागि तपाईंलाई सत्ताको मैदानमा भिड्न पठाउँदैछन् ।
आदरणीय शेरबहादुर दाई
यो लडाईं तपाईंले जित्नुहुन्न । किनभने तपाईंको भूमिका लडाई जित्ने र हार्ने होइन । तपाईंको भूमिका अभिभावकत्व दिने हो । तपाईं नेपाली कांग्रेसको मात्र नभएर देशकै अभिभावक बन्नुपर्छ । तपाईंको घर जलाउन जाने अपराधीहरुको बेग्लै कुरा भयो, लहलहैमा आगजनी गर्ने जेन्जीको पनि तपाईं अभिभावक हो, तपाईंमाथि भौतिक आक्रमण हुँदा बचाउने पनि जेन्जी नै थिए, उनीहरुको पनि तपाईं अभिभावक नै हो । तपाईं एमाले र रास्वपा तथा सबै पार्टीको अभिभावक बन्नुस् । त्यसो नगरेर तपाईंलाई पार्टीभित्र एउटा पक्षको सेनापति जस्तो बनाउन खोज्दैछन्, पार्टी बाहिर केपी ओलीको कारिन्दा बनाउन खोज्दैछन् । हामी तपाईंलाई समग्र लोकतान्त्रिक आन्दोलनको अभिभावक बनाउन खोज्दैछौं, तपाईंलाई घेरा र उकेरा लगाउनेहरु नातावाद, कृपावाद, भ्रष्टतन्त्र, गुटतन्त्रको अभिभावक बनाउन खोज्दैछन् ।
शेरबहादुर देउवा भन्ने व्यक्तित्व तपाईं आफूले मात्र बनाएको होइन, तपाईंको जे व्यक्तित्व बनेको छ, त्यसमा नेपाली कांग्रेसका हरेक कार्यकर्ता र नेपाली जनताको योगदान छ । सबैको योगदानबाट बनेको शेरबहादुर नामको व्यक्तित्वलाई न तपाईंको परिवारले एकलौटी पार्न मिल्छ, न घेरा र उकेरा लगाउने स्वार्थी समूहले एकलौटी पार्न मिल्छ । तपाईं आफैंलाई पनि शेरबहादुर नामको व्यक्तित्वको इतिहास बगाउने, वर्तमान भत्काउने र भविष्य कलंकित बनाउने अधिकार छैन । घेरा र उकेराबाट उम्किएर आजैका मितिबाट तपाईं नेपाल र नेपाली कांग्रेसको साझा बन्नुस्, अभिभावक र मागर्ददर्शक बन्नुस् । घेरा र उकेरा भत्काउनुस् । यसैमा तपाईंको, नेपाली कांग्रेसको र देशको भलाई छ ।
यसका लागि तपाईंले वास्तविक रुपमा नेतृत्व हस्तान्तरण गर्नुहोस्, शक्ति र आशक्तिको काम नगर्नुहोस् । आफू एक कदम पछि हटेर पार्टी एकतालाई दुई कदम अगाडि बढाउनुहोस् । नेतृत्व हस्तान्तरण गर्नुभयो भने अहिले पार्टीमा देखिएको विग्रह साम्य हुनेछ र नेपाली कांग्रेसले सानदार रुपमा आमचुनावको सामना गर्न सक्नेछ । विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादको जरा तपाईं नै हो । तपाईंले मार्गप्रशस्त गरिदिने हो भने विशेष र नियमित महाधिवेशनको विवाद चुट्कीको भरमा समाधान हुनसक्छ । तपाईंले आफूलाई घेरा लगाएर उकेरा लगाउनेहरुको स्वार्थ हेर्ने कि समग्र पार्टीको हित हेर्ने रु विचार गर्नुहोस् ।
आफ्नो र नेपाली कांग्रेसको इतिहास भत्काउने, वर्तमान लथालिंग पार्ने र भविष्य सत्यानाश बनाउने काम नगर्नुहोस् । अविलम्ब कार्यकर्ता र जनताको आवाज सुन्नुहोस् भनी विनम्र आग्रह गर्दछु ।
दिनेश कोइराला
धन्यवाद, जय नेपाल


