बाह्य शक्तिको दाउपेच विश्लेषण गर्ने क्षमता नेपाली राजनीतिले राख्नु पर्छ : विश्लेषक पन्थी
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना
२०३३ साल पौष १६ गते नेपाली काँग्रेसका तत्कालीन सभापति बिपी कोइराला गणेशमान सिंह, रामबाबु प्रसाईँ, शैलजा आचार्य, नीलाम्बर पन्थी र खुमबहादुर खड्कालाई साथमा लिएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर भारत निर्वासनबाट नेपाल फर्कनुभएको थियो ।
राष्ट्रिय एकता र मेलमिलापको अर्थ राष्ट्रियता र प्रजातन्त्रको सहयात्रा र सहअस्तित्वको आत्मस्वीकृति थियो । त्यसलाई बिपी कोइरालाले पार्टीको नीति नै बनाएर सार्वजनिक उदघोष गर्नुभएको थियो । त्यसबखत दक्षिण एसियाको राजनीतिमा स्वतन्त्र राष्ट्रहरूमा भएको विखण्डन लगायतका डरलाग्दा घटनाहरूलाई बिपी कोइरालाले सुक्ष्म रूपमा हेर्नुभएको थियो ।
पाकिस्तानबाट बंगलादेश अलग हुनु, अफगानिस्तानमा ठूलै अस्थिरता खडा गरिनु जस्ता घटनाले बिपीलाई झस्काएको थियो । प्रजातन्त्रका नाममा मात्र अडान राखिरहदा राष्ट्रियता नै संकटमा पर्न सक्ने खतराको बोध गरेर विपीले यस्तो नीति अवलम्बन गरेको देखिन्छ ।
राजा, राष्ट्रियता र प्रजातन्त्रको विषय एकीकृत रूपमा उठाएर आफूमाथि लागेका भयङ्कर मुद्दाहरूको परवाह नगरी आफ्नै जीवनलाई समेत चुनौती दिएर राष्ट्रको हितमा आफूलाई समर्पित गरेको यो महत्त्वपूर्ण ऐतिहासिक घटना हो । हालको नेपाली काँग्रेसको सन्दर्भमा यो विषयले ठाउँ भने पाएको छैन ।
राष्ट्र र जनतालाई केन्द्रमा राखेर घरेलु राजनीतिलाई मजबूत गर्नु प्रजातन्त्रवादी को प्रमुख कर्तव्य हो । सँगसँगै बाह्य राजनीतिको दाउपेच राम्रोसंग विश्लेषण गर्ने क्षमता नेपाली राजनीतिले राख्नु पर्दछ । नेपालको सन्दर्भमा प्रजातान्त्रिक मूलधारको राजनीतिक शक्तिले बिपी कोइरालाले उठाएको यो कदमलाई गम्भीरतापूर्वक मनन गर्नु आवश्यक छ ।
विष्णु पन्थी,राजनीतिक विश्लेषक हुन् ।


