जेनजी पुस्ताबाट एमाले केन्द्रीय सदस्यमा अस्मिता थापाको उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा जेनजी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी छन् ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा ।
२९ वर्षीया थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी छन् ।
थापाको प्रस्तावकमा कोशी प्रदेशकी मन्त्री सिर्जना राई र समर्थकमा अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठ बसेका छन् ।
ओखलढुंगा जिल्ला कमिटी उपसचिव रहेकी थापा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहेकै बेला २०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिका उपाध्यक्ष उम्मेदवार बन्न गएकी थिइन् ।
उनी त्यसबेला सबैभन्दा कम उमेर (२६ वर्ष)की उपाध्यक्षका रुपमा निर्वाचित भएकी थिइन् । थापाले एमालेलाई उमेर समूह र राजनीतिक सक्रियताका हिसाबले तीन तरेलीको नेतृत्व पंक्ति निर्माणमा आफू सबैभन्दा नयाँ जेनजी पुस्ताबाट पार्टीले अघि सारेको उम्मेदवार भएको बताइन् ।
पार्टीमा आफूहरुजस्ता नयाँ पुस्ता,आन्दोलनबाट स्थापित युवा नेताहरुसहितको दोस्रो पुस्ता र पार्टी स्थापनादेखि देशमा लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको पहिलो पुस्तासहितको समिश्रणमा नयाँ रुपान्तरण आवश्यक भएको बताएकी छन् ।


