१७ मंसिर २०८२, बुधबार | December 3, 2025

समावेशी समाज निर्माणको दिशामा कदम चाल्नु अझै आवश्यक : केपी ओली


December 3, 2025
83
Shares

   सन्देश
विश्वभर एकसाथ मनाईंदै आएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस “अपाङ्गता समावेशी समाजको प्रवद्र्धन सामाजिक उन्नतिको सम्वद्र्धन” (Fostering Disability Inclusive societies for advancing social progress) भन्ने मूल नाराका साथ आज ३ डिसेम्बरका दिन नेपालमा पनि ३४औं दिवस मनाउँदै गरेको यस अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अपाङ्गता भएका व्यक्तिको अधिकारको सुनिश्चितता, प्रवद्र्धन र संरक्षण गर्न एकीकृत रूपमा प्रभावकारी कार्यक्रमका साथै अपाङ्गतामैत्री सोचका साथ अघि बढ्न सम्पूर्ण देशवासी र सरोकारवालहरूमा आह्वान गर्दछु । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अपाङ्गता भएका व्यक्तिको हितलाई अलग राखेर सम्भव छैन । तसर्थ कोही पनि पछाडि नपरून् भन्ने दीगो विकास लक्ष्यको मूल मर्मलाई सार्थक पार्न अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सबै नागरिक सरह विकासको मूल प्रवाहमा समावेश गर्दै अगाडि बढाउन हाम्रो पार्टीले आफ्नो नीति तथा कार्यक्रमहरू मार्फत् सम्बोधन गर्दै आइरहेको छ । समतामूलक तथा समावेशी समाज निर्माणको दिशामा आवश्यक कदम चाल्नु अझै आवश्यक छ । नेपालको संविधान र कानूनहरूका साथै अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धि (सिआरपिडी)को मर्मअनुरुप अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई मौलिक हकको रूपमा स्थापित गर्न, अपाङ्गताको आधारमा गरिने विभेदलाई निषेध गर्दै, समानुपातिक समावेशिताको सिद्धान्तअनुरुप अन्य नागरिक सरह राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले आवश्यक पहलकदमी गर्दैै आएको छ । पार्टीले अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा भत्ता सुरुवात, अपाङ्गता भएका व्यक्तिलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, अन्धविश्वास, गलत संस्कारलाई राजनीतिक र सामाजिक आन्दोलनमार्फत् परिवर्तन गर्दै आएको छ ।

राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गर्दै नेतृत्वमा स्थापित गर्दै आएको छ । हाम्रो पार्टी नेकपा (एमाले) तमाम अपाङ्गता भएका व्यक्तिहरूले उठान गर्दै आइरहेका महत्त्वपूर्ण सवालहरू समुदायमा नै समावेश भई स्वतन्त्र, स्वाबलम्बी र मर्यादित जीवनयापन गर्न व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँचयुक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीको सवालमा गम्भीर रहेको छ । अपाङ्गतामैत्री वातावरण बनाउन पार्टी केन्द्रीय कार्यालयको पहुँचयुक्तता परीक्षण गरिसकेको र अन्य कार्यालयहरूमा क्रमशः परीक्षण गरी आधुनिक प्रविधिसँग जोड्दै लैजाने कुरामा पार्टी प्रतिबद्ध छ ।

महामारी, भूकम्प लगायत प्राकृतिक प्रकोपको कारणले अपाङ्गता भएका व्यक्तिहरू अझ धेरै मारमा परेको कुरालाई मध्यनजर गर्दै अल्पकालीन तथा दीर्घकालीन योजनाका साथ विशेष संरक्षण, सहुलियत, राहत, सहायक सामग्री, सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन र अपाङ्गता भएका व्यक्तिका समस्या र आवश्यकतालाई पहिचान गरी उनीहरूले भोगिरहेका बहुआयामिक अवरोधहरू न्यूनीकरण गर्दै सम्मानपूर्वक जीवनयापनका लागि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई सम्वोधन गर्न आवश्यक नेतृत्व प्रदान गर्न पार्टी प्रतिवद्ध छ ।

 

प्रतिक्रिया