१५ कार्तिक २०८२, शनिबार | November 1, 2025

जनतालाई केन्द्रमा राखेर महाधिवेशनमा जाऔं !


November 1, 2025
4.6k
Shares

जनतामा विश्वास जगाउने गरी महाधिवेशन गरौं

१। काँग्रेसको महाधिवेशन कसैले रोक्दैन, रोक्न सक्दैन, यो समयमै भएरै छाड्छ । महाधिवेशन रोक्न थालियो भन्दै बुख्याँचा खडा गरेर हावामा तरवार चलाउने कम्युनिस्ट शैली काँग्रेसमा राम्रैसँग भित्रिएको देखियो । हुन त यो कम्युनिस्टसँगको लामो उठबसको प्रभाव पनि होला ।

२। काँग्रेसको केन्द्रीय कार्यालय जलेको छ, जिल्ला तहका कार्यालय पनि तोडफोड भएका छन्, जलेका छन् । सभापतिमाथि कुटपिट भएको छ । लोकप्रिय भनिएका महामन्त्रीहरूका घर पनि जलेका छन् । सयौँ काँग्रेसीका घरहरू लुटिए, तोडफोड भए, आगजनी भए । यो त सत्य हो ? ।

३। नेपाली काँग्रेस थुप्रै प्रश्नबाट पक्कै घेरिएको छ । पार्टीका पदाधिकारी बीचको स्वार्थ, तानातान र नेतृत्वको होडबाजीसँग जनताले पार्टी माथि गरेका प्रश्न जोडिएका छैनन् । हालको नेतृत्वमा रहेका सबै पदाधिकारी सत्ताको भागबण्डामा सामेल थिए, सरकार सञ्चालनको संयन्त्रमा बसेर राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्व राख्ने नीतिगत निर्णयमा मज्जाले सहभागी थिए । आफ्नो स्वार्थ अनुरूपको भाग खाएका पनि थिए । यो त आरोप होइन नि ? ‘जो चोर उसैको ठूलो स्वर’ भनेर हामीलाई कसैले भनिदियो भने के होला हालत ?

४। हामीले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेका हौं, संघर्ष पनि गरेका हौं र जनता सामु लोककल्याणको बाचा पनि गरेका हौं । त्यो बखत अब आइन्दा कहिल्यै राजनीतिक आन्दोलन गर्नुपर्दैन भनेर जनतालाई आश्वस्त पनि पारेका हौं । त्यसो भन्ने युवाहरू आज पार्टी नेतृत्वमा नै छौं । जनताले निर्वाचित पनि गरेका हुन् । सरकार सञ्चालनमा पनि हाम्रो सहभागिता थियो । तर हामीले जनता माझ गरेका बाचा प्रति इमान्दार नदेखिएर नै प्रश्नहरू उठेका हुन् । यसको सामना सिङ्गो पार्टीले गर्नु नै पर्दछ । जनताका प्रश्नलाई नजरअन्दाज गरेर, त्यसलाई ढाकछोप गरेर कसैले पानी माथिको ओभानो बन्न खोज्नु अर्को भयङ्कर ठगी हो । त्यसैले यथार्थको विश्लेषण नगरी आत्म समीक्षा बिना अघि बढ्ने कोशिश नगरौं ।

५। हाम्रो नेतृत्वमा जारी गरिएको संविधानमा हामीले जनताका ३१ प्रकारका आधारभूत हक प्रबन्ध गरेका छौं । तिनलाई हामीले कागजको खोस्टोमा लेखेर रद्दीको टोकरीमा फालेको सम्झेका त छैनौं ? त्यही संबिधान लेखनका लागि त्यत्रो संघर्ष भयो । हजारौंको ज्यान गयो, मानिस अङ्गभङ्ग भए । हामी चाहिँ सत्ताको होडमा आपसमा खोसाखोस गरेर बस्न सुहाउँछ ? कहाँ पुग्यो लोकतान्त्रिक समाजवादको यात्रा ? शिक्षा र स्वास्थ्यमा भएको व्यापार र त्यसैमा साझेदारी गरेर जनतालाई झुक्याउने काममा त केन्द्रकै नेतृत्व छ त । यो नेतृत्वमा रहेकाहरू जनताका मुद्दाबाट टाढा भएर यो अवस्था सृजना भएको हो भनेर दुनियाले भन्दा नसुन्ने अनि म चाहिँ ठीक छु भन्दै हिँड्दा त लाज पनि लाजाउँदैन र महोदय ?

६। आफूलाई केन्द्रमा राखेर होइन जनतालाई केन्द्रमा राखेर कुरा गरौं । पार्टी कार्यालयमा त बिपी, गणेशमान, सुवर्ण समशेर, किशुनजी, गिरिजाबाबु, महेन्द्र नारायण निधी, सुशील कोइराला, शैलजा आचार्य, भीमबहादुर तामाङहरूका फोटा त पक्कै झुण्डिएका छन्, यसको मतलब तिनले देखाएको देश, जनता र लोकतन्त्र प्रतिको त्याग र समर्पणको बाटो चिनौं भन्ने हो । जनता र तिनका हक बेवास्ता गरेर पार्टीको इतिहास भजाएर खाने दिन गए । जनताले हाम्रो राजनीतिक इमान्दारिताको परीक्षा गरिरहेका छन् । यसमा समीक्षा गरौं न ।

७। विचार, चरित्र, नीति, कार्यक्रम, इमान र नैतिकतामा प्रतिबद्ध भएर अधिवेशनमा जाउँ, जनताबीचमा जाउँ, आम चुनावमा जाउँ । अधिवेशन आजै गरौं या भोलि नै, यो सहज विषय हो । यसलाई जटिल बनाउनु पर्दैन । यसमा राजनीति गर्नुको मतलब हामी अझैपनि जनताको जीविका, सरोकार र लोककल्याणको मुद्दामा सिरियस छैनौं ।
म फेरि पनि अपिल गर्दछु, जनताका हकको कार्यान्वयनमा केन्द्रित बनौ, आडम्बर, ढोङ र पाखण्डबाट माथि उठेर जनता प्रति इमान्दार बन्ने म्यासेज बोकेर मात्र अधिवेशनमा अहिल्यै जाउँ तर सच्चिएर ।आम चुनावमा जाउँ एकताबद्ध भएर ।

कुन्दन काफ्ले
युवा नेता, नेपाली कांग्रेस

प्रतिक्रिया