दुई इटालियन आरोहीको शव फेला
    गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव आज फेला परेको छ ।
प्रहरीका अनुसार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए ।
उनका अनुसार आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ ।
पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए ।
उनीहरूसँगै अलपत्र परेका इटालियन नागरिक ६४ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।
उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौं पठाइएको उनले बताए ।


