१३ कार्तिक २०८२, बिहिबार | October 30, 2025

एनभिएकी महिला केन्द्रीय सदस्य निलम्बित


October 30, 2025
13.1k
Shares

काठमाडौं,१३ कात्तिक । नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले एकजना महिला केन्द्रीय सदस्यलाई निलम्बन गरेको छ । निर्वाचित भएपछि कार्यसमितिले तोकेको मिति र समयमा सपथ ग्रहण र पदभार समेत नगरेको भन्दै एनभिएका केन्द्रीय अध्यक्ष ई. सन्जयकुमार महतोले संस्थाको विधानअनुसार निर्वाचित केन्द्रीय सदस्य इ.आस्मा पोखरेललाई निलम्बन गरेका हुन् ।

भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पोखरेलको निलम्बनलाई अनुमोदन गर्ने एनभिएले जनाएको छ ।

निलम्बन भएसँगै इ.पोखरेलले अवधिभर एशोसिएसनको कुनै पनि औपचारिक बैठक, निर्णय प्रक्रिया वा प्रतिनिधित्वमा भाग लिन पाउने छैनन् । इ.पोखरेललाई कार्यसमितिको नियमित बैठक र सपथ ग्रहणका लागि पटक–पटक जानकारी गराउँदा पनि नआउने, अन्य कुनै पनि बैठकमा उपस्थित नहुने, प्रतिक्रिया पनि नदिने, बेवास्ता गर्ने जस्ता कार्यले निलम्बन गर्न बाध्य भएको अध्यक्ष महतोले बताए ।

एनभिएको विधान,आचारसंहिता र संस्थागत अनुशासनको उल्लंघन गरेको ठहर भएकोले केन्द्रीय अध्यक्षको हैसियतले अर्को निर्णय नहुन्जेलसम्मका लागि पोखरेललाई निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

एशोसिएशनको प्रतिष्ठा,अनुशासन, मर्यादा कायम राख्ने उद्देश्यले सो निर्णय गरिएको महतोले बताए ।

प्रतिक्रिया