भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमणले के सन्देश दियो

समाचार विश्लेषण । भारतका विदेशसचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमण पूरा गरी सोमबार फर्किएका छन् । मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निम्तो दिए ।
प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा ओलीले भारत भ्रमणको निम्तो पाएका थिएनन् । अहिले भने विदेश सचिव मिश्री नै आएर उनलाई निम्तो दिए । यसलाई भारतको विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ ।
ओलीसँग मिश्रीको भेट निर्धारित समयभन्दा निकै लामो रह्यो । ओलीसँगको भेट लम्बिएपछि मिश्रीको भेटका तालिकाको कतिपय समय नै फेरिएको थियो । ओलीले मिश्रीसँग अंग्रेजीमा लामो कुराकानी गरेका थिए ।
मिश्रीले भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेर विभिन्न सामाग्री सहयोग हस्तान्तरण गरे । ती सामाग्रीमा लाइट स्ट्राइक भेहिकल, क्रिटिकल केयर मेडिकल इकुपमेन्ट र सैन्य सामाग्रीहरु थिए । मिश्रीले सेनापतिसँग भेटेर भारतको नेपालसँग बलियो सैन्य सम्बन्ध रहेको सन्देश पनि दिए ।
मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा र समकक्षी अमृतबहादुर राईसँग पनि भेटे । उनले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डसँग पनि भेटे । रास्वपा नेताहरु स्वर्णिम वाग्ले र शिशिर खनालसँग पनि भेटे । मधेशवादी दलका नेताहरुसँग सामूहिक भेट गरे । काँग्रेसका प्रभावशाली नेता शेखर कोइरालासँग पनि मिश्रीले भेटे । तर, भेटको सूचीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि परेनन् । यसलाई अर्थपूर्ण मानिएको छ ।
विभिन्न भेटघाटका क्रममा नेपाल र भारत दुवैले भौतिक कनेक्टिभिटी, डिजिटल कनेक्टिभिटी, रक्षा र सुरक्षा तथा ऊर्जा सहकार्य सहित द्विपक्षीय सहकार्यका विविध क्षेत्रहरुमा हालैका वर्षहरुमा भएका ठोस प्रगतिमा सन्तुष्टि व्यक्त गरे । छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार रहेको भारतको विदेश मन्त्रालयले विज्ञप्तिमाफत् जनाएको छ । विदेश सचिवको भ्रमणले दुई देशहरु बीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै यसले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन मद्दत गरेको विश्वास लिइएको छ ।