२६ श्रावण २०८२, आइतबार | August 10, 2025

अघोरी बाबालाई किन चाहिन्छ शवको मासु र हड्डी ?


August 10, 2025
747
Shares

काठमाडौं,२५ साउन । पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मासु र हड्डी चोरी भएको नयाँ घटना बाहिर आएको छ । यस्तो चोरी गर्नेलाई कस्तो कानुनी कारवाही गर्ने प्रहरी पनि अलमलमा छ । शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई घाटेहरुले दिने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

काभ्रेको बनेपा-९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरे। मलामीले दिएको निवेदनका आधारमा प्रहरी शव जलाउने घाटमा पुगेर उक्त शव दहन गर्ने घाटे गणेश ढकाललाई पक्राउ गरेर हिरासतमा राखेको छ।

ढकालले आफूले मासु नभएर हड्डी झिकेको प्रहरीलाई बयान दिएका छन् । तर मासु र हड्डीको प्रयोग बारे भने केही नबताएको बुझिएको छ ।

मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटनानै प्रहरीका लागि नयाँ हो । ढकाललाई  आइतबार अभद्र व्यवहारमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने भएको छ । अनुसन्धानको निष्कर्षपछि कुन कानुनअनुसार कारबाही गर्ने भन्ने विषयमा कानुन व्यवसायी र सरकारी वकिलसँग सल्लाह गर्ने प्रहरीले जनाएको छ ।

अघोरी बाबा मसान जगाउनका निम्ति मान्छेको हड्डी खेलाउने, रगत पिउने र मासु खाने हुन्छन् । मानिसको नलीखुट्टाको हड्डी खेलाएर मसान जगाउने अघोरी बाबाले शव दहनको काम गर्ने घाटेसँग मिलेमतो गरेको अनुमान अनुसन्धानमा खटिएको प्रहरीहरुको भनाइ छ ।

प्रतिक्रिया