१९ श्रावण २०८२, आइतबार | August 3, 2025

मोर्गन इन्टरनेशनल स्कुलमा गुण्डा शैलिमा मिडिया बोकेर अनुगमनमा आएको प्राचार्यको आरोप


830
Shares

काठमाडौं, १८ साउन। काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ । बिहिबार महानगरपालिका भित्रका विभिन्न विभागहरुले गरेको संयुक्त अनुगमन टोलीले उक्त स्कुलमा अनुगमन गरेको हो। शिक्षा विभागमा प्राप्त उजुरीहरूको आधारमा गरिएको उक्त अनुगमनले विद्यालयमा अनियमितताहरू फेला पारेको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले दाबी गरेका छन् ।

काठमाडौं महानगरपालिकाको शहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी विभाग, सार्वजनिक निर्माण विभाग, शहरी व्यवस्थापन विभाग र शिक्षा विभागको संयुक्त टोलीले विद्यालयको अनुगमन गरेको थियो । अनुगमनको मुख्य उद्देश्य छात्रवृत्ति कार्यक्रम, शुल्क संरचना र नियामक मापदण्डको पालनाबारे जाँच भएको महानगरले जानकारी दियो ।

विद्यालयमा तोकिएको भन्दा बढी छात्रवृक्ति महानगरले विद्यार्थीलाई दिनको लागि दबाब दिएको र तोकिएको १० प्रतिशत भन्दा बढी दिन नसकिने विद्यालयले बताए पछि अनुगमनको लागि गुण्डा शैलिमा आएको विद्यालयका प्राचार्य दिपेन्द्र भण्डारीले बताए ।

यता अनुगमनको क्रममा विद्यालय सञ्चालनमा गम्भीर अनियमितताहरू फेला पारेको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताएका छन् । तर विद्यालय प्रशासनले भने त्यस्तो कुनै पनि अनियमितता नभएको र सबै कानुन संवत नै रहेर विद्यालय सञ्चालन गरेको बताए । भण्डारीले भने हामीले राम्रो गरेको र उत्कृष्ट शिक्षा प्रदान गरेको देख्न नसकेर भर्नाको समयमा अनुगमनको नाममा विद्यालयलाई बदनाम गर्ने षड्यन्त्र गरेर मिडिया बाजि गरेको बताए ।

महानगरपालिकाले विद्यालय सञ्चालनको अनुमति पत्र, शुल्क संरचना र छात्रवृत्ति सम्बन्धी विवरण, भौतिक पूर्वाधार (कक्षा कोठा, सुरक्षा, क्यान्टिन) सम्बन्धी कागजात, राजस्व र कर सम्बन्धी रेकर्ड, विद्यालय स्थानान्तरण सम्बन्धी कागजात लगायतकाका कागजातहरूको प्रमाणित प्रतिलिपि तीन दिनभित्र शिक्षा विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया