१७ श्रावण २०८२, शुक्रबार | August 1, 2025

‘दलहरुले देश र जनताप्रतिको दायित्व बिर्सदा युवापुस्तामा चरम निराशा’


1.9k
Shares

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका युवा नेता संजिब गुरुङ्गले दलहरुले देश र जनताप्रतिको दायित्व बिर्सदै गएको आरोप लगाएका छन् ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस भित्र भित्रको आन्तरिक लडाइले कार्यकर्ता निराश भएकोले युवापुस्ता अन्यौलको यात्रामा हिड्न बाध्य भएको उनले टिप्पणी गरेका छन् ।

“इतिहास बोकेको लोकप्रिय जनताको नेपाली कांग्रेस पार्टी आज आफू आफूमा तानातान गर्दै गर्दा देश र जनताको हक र हितमा काम गर्न त बिर्सेको छ नै कार्यकर्तालाई निराश बनाई अन्योलको यात्रामा हिँडाउन बाध्य बनाइएको छ।”–उनले लेखेका छन् ।

सबैभन्दा पुरानो लोकतान्त्रिक र लोकप्रिय दल कांग्रेसकै कारण राजनीतिक अस्थिरता भएको र खिचातानी चरम गतिमा पुगेको उनको भनाइ छ ।

पार्टीभित्रका माथिल्लो तहका नेताहरू सत्ता प्राप्तिको दौडमा लाग्दा विधि विधान र नीतिलाई पनि आफू अनुकूल प्रयोग गरेको भन्दै यस्ता कामले पार्टी र देशलाई नै हानी हुने उनको तर्क छ ।

यसरी प्राप्त गरेको पद र सत्ताले भ्रष्टाचार मौलाउनेबाहेक देश हितको काम केही नहुने उनको टिप्पणी छ । “अनावश्यक कामहरू गर्दै कहिले कर्मचारीमाथि प्रहार कहिले नीतिमाथि प्रहार कहिले विधिमाथि प्रहार त कहिले भ्रष्टाचारमा लिप्त रहँदै संगठनलाई नै अन्योलको बाटोतिर धकेलिएको देखिन्छ यसो हुँदै गर्दा माथिल्लो तहमा हुनेले पद प्राप्ति गर्दै गर्दा तल्लो तहमा निराशा त छँदैछ।”–उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनको अनुसार नीतिलाई लत्याएर नेतृत्वमा पुगेका नेताहरुकै कारण आम नागरिकहरुले समेत विश्वास गर्न छाडेका छन् । अब नेतालाई जनताले भरोसाका पात्रको रुपमा हेर्न छाडिसकेका छन् । उनीहरुकै कारण देशको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन बिग्रदै गइरहेको उनले दाबी गरेका छन् ।

गुट र उपगुटमा वडादेखि केन्द्रसम्मै अल्झिएको कांग्रेस आगामी निर्वाचनमा कसरी जनता माझ जाला ? उनले प्रतिप्रश्न गरेका छन् । समयमै सचेत भई अहिलेको पुस्तामा राजनीतिक पुस्तान्तरण अपरिहार्य आवश्यकता रहेको उनले स्पष्ट पारेका छन् ।

 

प्रतिक्रिया