१४ श्रावण २०८२, मंगलबार | July 29, 2025

एनआईएमबी बैंकबिरुद्ध देशभर काम ठप्प पारेर मुल्यांकनकर्ता इन्जिनियरहरु आन्दोलनमा


11.2k
Shares

काठमाडौं,१३ साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)बिरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै सोमबारदेखि मुल्यांकनसम्बन्धि सम्पुर्ण कार्य देशभर ठप्प पारेर सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् ।

मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले साउन १२ गते सोमबार देखि अर्को निर्णय नभएसम्म सो बैंकका देशभरीका सम्पुर्ण शाखा कार्यालयमा सम्पुर्ण धितो मुल्यांकनको कार्य बन्द गर्ने निर्णय गरेर आन्दोलनमा उत्रिएको हो । काम जुन अवस्थामा छ त्यही अवस्थामा पुर्ण रुपमा रोक्न सबै सदस्यहरुलाई निर्देशन दिएको छ ।

एनभिएका केन्द्रीय सचिव ई. रबिन्द्र अधिकारीले आन्दोलनको समयमा एनआइएमबी बैंकमा सुचिकृत भई काम गरेको पाइएमा ती सदस्यहरुलाई एनभिएको सदस्यता नदिने र पुरानो समेत सदस्यता खारेज गर्ने चेतावनी दिएका छन् ।

इन्जिनियरिङ पेशासँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले एनआइएमबी बैंकविरुद्ध एनभिएको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै बुधबार संयुक्त वक्तव्य जारी गर्दैछन् । इन्जिनियर र आर्किटेक्टहरूको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएसन (एनइए), एनभिएका सातै प्रदेश, च्याप्टर कार्यालयहरुले पनि एनभिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बिरुद्धको आन्दोलनमा ऐक्वबद्धता जनाएका छन्।

साउन १९–२० गते बैंकहरुले दिएको दुख लगायत एनभिएका सदस्यहरुलाई परेका समस्याका बारेमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघलाई जानकारी गराउने र पत्रकार सम्मेलन गर्ने एनभिएको कार्यक्रम छ ।

त्यसैगरी, एनभिएले साउन २३ गते एनआइएमबी बैंकको केन्द्रीय कार्यालय, प्रदेश तथा शाखा कार्यालयमा विरोध तथा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणको आन्दोलनमा माग पुरा नभए कडा रुपमा दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने समेत एनभिएले बताएको छ ।

नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स एशोसिएसन बीच भएको सर्भिस ड्राफ्ट एग्रिमेन्ट फम्र्याट तत्काल पुर्ण रुपमा कार्यान्वयन गर्न एनभिएले एनआइएमबी बैंकसँग माग गरेको छ । घर जग्गाको मुल्य र मुल्यांकन घटेकै आधारमा मूल्यांकनकर्ता इन्जिनियरहरुमाथि गरिएको कालोसूची लगायतका कारबाहीको सिफारिस फिर्ता लिन पनि माग अघि सारिएको छ ।

धेरै मूल्यांकनकर्ता इन्जिनियरहरु सुचिकृत गर्ने तर काम नदिने परिपाटीको तुरुन्त अन्त्य गर्नुपर्ने माग एनिभएले राखेको छ । त्यसैगरी, चक्रिय प्रणाली अन्तर्गत काम बाँडफाँड गर्न तथा न्युनतम मासिक रुपमा सुचिकृत मुल्यांकनकताहरुले कार्यादेश प्राप्त गर्ने सुनिश्चित गर्न पनि एनभिएले माग अघि सारेको छ ।

त्यस्तै, एनभिएद्धारा जारी मुल्यांकन परामर्श सेवा शुल्क तत्काल लागु गर्न, राष्ट्र बैंकको निर्देशिका बमोजिम मुल्यांकनकर्ता इन्जिनियरहरुको काम,कर्तव्य अधिकार तथा उत्तरदायित्व अनिवार्य उल्लेख गरी मात्र मुल्यांकनकर्ताहरुसँग सम्झौता गर्न, मुल्यांकनकर्ताहरुलाई विभिन्न बहानामा काम नदिई निलम्बन गरेको कारवाही तत्काल फिर्ता गर्न एनआइएमबी बैंकलाई आग्रह छ ।

 

प्रतिक्रिया