१३ श्रावण २०८२, सोमबार | July 29, 2025

प्रेम राईमाथि प्रहार, कसरी तोड्लान् भ्रष्टाचारी गिरोहको जालो ?


249
Shares

काठमाडौं, १२ साउन । अख्तियार प्रमुख भएपछि प्रेम कुमार राईले भ्रष्टाचारको जालो धमाधम तोडे । ठूला भ्रष्टाचारकाण्डहरु छताछुल्ल मात्र पारेनन् मुद्दा नै बढाए । उनको कार्यकालमा पूर्वप्रधानमन्त्री देखि मन्त्री मात्र नभई सार्वजनिक संस्थाका प्रमुखहरु भ्रष्टाचारको मुद्दाको सामना गर्न थाले । नेपालको इतिहासमा यति ठूलो आँट गर्ने अख्तियार प्रमुख राई नै भए ।

अख्तियार प्रमुखसहित ५२ जना संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विषय अदालतमा विचाराधीन हुँदा पनि राईले पराक्रम देखाउन छाडेनन् । अदालतले निर्णय लिने भनिएको दिनसम्म पनि उनी भ्रष्टाचारीलाई कानूनी कठघरामा पुर्याउन उद्धत रहे । अदालतले नियुक्ति खारेजीका लागि परेको निवेदन नै खारेज गर्ने फैसला सुनायो । त्यो घटनाले भ्रष्टाचार संगठित रुपमा गर्दै आएको माफिया गिरोह आत्तियो । राईलाई टाउकोमा तरबार झुण्ड्याउने नयाँ शैली अपनाउन थाल्यो गिरोहले ।

राईको कार्यकालमा प्रिन्टिङ प्रेस देखि आइटी क्षेत्रमा भ्रष्टाचार गर्ने विकल पौडेल र सुनिल पौडेलको गिरोह छानबिनमा ल्याएर अख्तियारले मुद्दा दायर गरी जेल परे । यो गिरोहले राज्यको महत्वपूर्ण निकायका व्यक्तिहरुलाई प्रभावित पारेर भ्रष्टाचार गरेको पत्ता लाग्यो । विदेशमा घूसको लेनदेन गरेको पाइयो । अख्तियार प्रमुख राईले घूसको लेनदेन विदेशमा भएको तथ्य प्रमाण रहेको खुलासा गरे । यसले भ्रष्टाचारीहरुको मुटुमा ढ्याङ्ग्रो बज्यो ।

इतिहासमा पहिलोपटक बहालवाला मुख्यसचिवमाथि अख्तियारले मुद्दा दायर गर्यो राईको कार्यकालमा । मुख्यसचिव बैकुण्ठ अर्यालको पद नै गयो अख्तियारको मुद्दाले । बिचौलियाहरु भागाभागको अवस्था बन्यो ।

नेपाल टेलिकमको बिलिङ प्रणालीको भ्रष्टाचार अख्तियारले छानबिनबाट पत्ता लगायो । विशेष अदालतमा मुद्दा पनि दायर भएको छ । यो मामलामा अझै गहिरो छानबिन गर्ने हो भने धेरै तथ्य फेला पर्छ । टेलिकम माफियाहरु यसकारण पनि आत्तिएका छन् ।

वाइडबडी प्रकरण, सवारी चालक अनुमतिपत्रमा घूसको लेनदेन, मालपोत र नापीमा हुने लेनदेनदेखि स्थानीय निकायको भ्रष्टाचारमा अख्तियार कठोर रुपमा प्रस्तुत भयो ।
देशभित्र भ्रष्टाचार गर्ने अनि घूसको लेनदेन सिंगापुर, दुबईलगायत विदेशी शहरमा गर्ने शैली पत्ता लाग्न थाल्यो । अख्तियारले यस्ता तथ्य फेला पारेपछि भ्रष्टाचारको संगठित गिरोह आत्तिएको छ । ठूलै गिरोह समातिने अवस्था आउन सक्दछ । यस्तो गिरोहले अहिले अख्तियार प्रमुख प्रेम राईलाई तारो बनाएको छ । जालो तयार गरिसकेको छ । त्यो जालो अख्तियार प्रमुख राईले तोड्न सक्लान् ?

प्रतिक्रिया