१० श्रावण २०८२, शुक्रबार | July 26, 2025

एनइएले गर्यो एनआइएमबी बैंकबिरुद्ध एनभिएको आन्दोलनको समर्थन


7.6k
Shares

काटमाडौं,८ साउन । इन्जिनियर र आर्किटेक्टहरूको छाता संगठनको रूपमा झण्डै ६२ वर्षअघि  स्थापित नेपाल इन्जिनियर्स एशोसिएसन (एनइए) ले नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)को नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंक बिरुद्धको आन्दोलनमा ऐक्वबद्धता जनाएको छ ।

आज बिहीबार एक विज्ञप्ती जारी गर्दै एनइएका अध्यक्ष ई.सुवास चन्द्र बरालले इन्जिनियरिङ पेशामा देखिएका विद्यमान चुनौती तथा समस्या समाधानका लागि एनभिएको एनआइएमबी बैंक बिरुद्धको आन्दोलनलाई समर्थन गरेको उल्लेख गरेका छन् ।

‘साउन १२ गतेदेखि विभिन्न जायज मागहरु राखि गर्न लागेको चरणबद्ध आन्दोलनप्रति नेपाल इन्जिनियर्स एशोसिएसन पुर्ण ऐक्यवद्धता जाहेर गर्दछ ।’–अध्यक्ष बरालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एनभिएले एनआइएमबी बैंकबिरुद्ध आफ्ना ६ बुंदे मागसहित पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

पहिलोे चरणमा साउन १२–२३ गते सम्म आन्दोलनका कार्यक्रम हुनेछन् । पहिलो दिन साउन १२ गतेदेखि अर्को निर्णय नभएसम्म सो बैंकका देशभरीका सम्पुर्ण शाखा कार्यालयमा सम्पुर्ण धितो मुल्यांकनको कार्य बन्द गर्ने, काम जुन अवस्थामा छ त्यही अवस्थामा पुर्ण रुपमा रोक्न सबै सदस्यहरुलाई निर्देशन दिएको छ ।

साउन १९–२० गते बैंकहरुले दिएको दुख लगायत एनभिएका सदस्यहरुलाई परेका समस्याका बारेमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघलाई जानकारी गराउने र पत्रकार सम्मेलन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यसैगरी, एनभिएले साउन २३ गते एनआइएमबी बैंकको केन्द्रीय कार्यालय, प्रदेश तथा शाखा कार्यालयमा विरोध तथा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणको आन्दोलनमा माग पुरा नभए कडा रुपमा दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने समेत एनभिएले बताएको छ ।

नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स एशोसिएसन बीच भएको सर्भिस ड्राफ्ट एग्रिमेन्ट फम्र्याट तत्काल पुर्ण रुपमा कार्यान्वयन गर्न एनभिएले एनआइएमबी बैंकसँग माग गरेको छ । घर जग्गाको मुल्य र मुल्यांकन घटेकै आधारमा मूल्यांकनकर्ता इन्जिनियरहरुमाथि गरिएको कालोसूची लगायतका कारबाहीको सिफारिस फिर्ता लिन पनि माग अघि सारिएको छ ।

धेरै मूल्यांकनकर्ता इन्जिनियरहरु सुचिकृत गर्ने तर काम नदिने परिपाटीको तुरुन्त अन्त्य गर्नुपर्ने माग एनिभएले राखेको छ । त्यसैगरी, चक्रिय प्रणाली अन्तर्गत काम बाँडफाँड गर्न तथा न्युनतम मासिक रुपमा सुचिकृत मुल्यांकनकताहरुले कार्यादेश प्राप्त गर्ने सुनिश्चित गर्न पनि एनभिएले माग अघि सारेको छ ।

त्यस्तै, एनभिएद्धारा जारी मुल्यांकन परामर्श सेवा शुल्क तत्काल लागु गर्न, राष्ट्र बैंकको निर्देशिका बमोजिम मुल्यांकनकर्ता इन्जिनियरहरुको काम,कर्तव्य अधिकार तथा उत्तरदायित्व अनिवार्य उल्लेख गरी मात्र मुल्यांकनकर्ताहरुसँग सम्झौता गर्न, मुल्यांकनकर्ताहरुलाई विभिन्न बहानामा काम नदिई निलम्बन गरेको कारवाही तत्काल फिर्ता गर्न एनआइएमबी बैंकलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया