पूर्वराष्ट्रपति दलको राजनीतिमा फर्किनु अप्रजातान्त्रिक र पदलोलुपताको विषय होः कांग्रेस नेता भट्टराई

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई नेपालको संविधानको स्पिरिटअनुसार पूर्वराष्ट्रपतिहरु सक्रिय राजनीतिमा फर्किएर दलको संकीर्ण घेराभित्र बस्न नहुने बताएका छन् । आज एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको प्रमुख, राष्ट्रको अध्यक्ष, संविधानको संरक्षक, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति दलको राजनीतिमा फर्किन नहुने बताएका हुन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किएको विषयलाई ‘भयानाक अप्रजातान्त्रिक र पदलोलुपताको विषय’ भनेका छन् ।
‘पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने कुरा अहिले गम्भीर रुपमा विषय उठेको छ । हाम्रो संविधान कम्युनिष्ट सत्ताको प्रतिनिधित्व गर्ने संविधान होइन,’ उनले भने, ‘यो बहुदलीय र डेमोक्रेटिक तरिकाले निर्माण गरिएको हुनाले यो संविधानअन्तर्गत राष्ट्रको प्रमुख, राष्ट्रको अध्यक्ष, संविधानको संरक्षक दलहरुकै सिफारिसमा भए पनि प्रधानमन्त्रीसमेतको नियुक्ति गर्ने मानिस, दलको सदस्यता पनि त्यागेर देशको सर्वोच्च पदमा आसिन भएको मानिस चाहिँ फेरि दलको सदस्यता खोज्दै राजनीतिमा फर्किने कुरा हाम्रो संविधानको स्पिरिट हो भन्ने चाहिँ मलाई लाग्दैन । यो भयानाक अप्रजातान्त्रिक र पदलोलुपताको विषय हो भन्ने मैले बुझ्छु ।’
साथै, उनले अहिले देशको अस्थिरताको प्रमुख कारक संविधानमा रहेको निर्वाचन प्रणाली रहेको बताए । निर्वाचन प्रणालीमा संशोधन गरेर स्थिर सरकार बन्ने बाटोतर्फ देशलाई नलगेसम्म सरकारहरु अदल–बदल भइरहने र दलभित्र पनि चलखेल चलिरहने बताए ।
‘आजको अस्थिरताको कारक हाम्रो संविधानमा रहेको निर्वाचन प्रणाली हो । जबसम्म यो निर्वाचन प्रणालीलाई संशोधन गरेर स्थिर सरकार बन्ने बाटोतर्फ देशलाई नलगेसम्म सरकारहरु अदल–बदल भइराख्छ । पार्टीभित्र पनि चलखेल भइराख्छ । सरकार बन्ने कुरामा पार्टीहरु बीचमा बाहिर नदेखिए पनि भित्रभित्रै त्यो धन्दा चलिराखेकै हुन्छ । नेपालको डेमोक्रेशीको बदनाम हुनबाट हामी बचाउन चाहन्छौं, जनता जनतामा निराशा कम गर्न चाहन्छौं भने पहिलो काम हामीले यो संविधानको संशोधन गर्न जरुरी छ,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले कांग्रेसको १५औं महाधिवेशन विधानले दिएको अवधिभित्रै हुने बताए । ढिलोमा २०८३ मंसिरभित्र कांग्रेसको १५औं महाधिवेशन हुने उनको दाबी छ । महाधिवेशन गराउने कुरामा कसैले आलटाल गर्न नहुने र त्यो छुट कसैलाई पनि नरहेको उनले बताए ।
‘हाम्रो महाधिवेशन विधानले दिएको अवधिभित्र हुन्छ । हाम्रो ढिलोमा २०८३ मंसिरभित्र हामी महाधिवेशन गर्छौं, गराउनुपर्छ । त्यसमा कसैले आलटाल गर्न हुँदैन, त्यो छुट पनि छैन । देशभरीका कांग्रेसका नेता कार्यकर्ता मिलेर महाधिवेशनमा पुर्याउन पर्छ,’– उनले भने ।