एनभिएले सार्वजनिक गर्यो एनआइएमबी बैंकबिरुद्ध आन्दोलनका कार्यक्रम

काटमाडौं,५ साउन । चल अचल सम्पत्ति मुल्यांकनकर्ताहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंक बिरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार एनभिएका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक ई. दिनेश कुमार पाठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
एनभिएले एनआइएमबी बैंकलाई आफ्ना ६ बुंदे माग र पहिलो चरणको आन्दोलनका कार्यक्रमबारे नेपाल राष्ट्र बैंक,नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल बैंकर्स संघलाई बोधार्थ राखेर लिखित रुपमा पत्रमार्फत जानकारी गराएको एनभिएका सचिव ई.रबिन्द्र अधिकारीले बताए ।
पहिलोे चरणमा साउन १२–२३ गते सम्म आन्दोलनका कार्यक्रम हुनेछन् । पहिलो दिन साउन १२ गतेदेखि अर्को निर्णय नभएसम्म सो बैंकका देशभरीका सम्पुर्ण शाखा कार्यालयमा सम्पुर्ण धितो मुल्यांकनको कार्य बन्द गर्ने, काम जुन अवस्थामा छ त्यही अवस्थामा पुर्ण रुपमा रोक्न सबै सदस्यहरुलाई निर्देशन दिएको छ ।
साउन १९–२० गते बैंकहरुले दिएको दुख लगायत एनभिएका सदस्यहरुलाई परेका समस्याका बारेमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघलाई जानकारी गराउने र पत्रकार सम्मेलन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
त्यसैगरी, एनभिएले साउन २३ गते एनआइएमबी बैंकको केन्द्रीय कार्यालय, प्रदेश तथा शाखा कार्यालयमा विरोध तथा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणको आन्दोलनमा माग पुरा नभए कडा रुपमा दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने समेत एनभिएले बताएको छ ।
नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स एशोसिएसन बीच भएको सर्भिस ड्राफ्ट एग्रिमेन्ट फम्र्याट तत्काल पुर्ण रुपमा कार्यान्वयन गर्न एनभिएले एनआइएमबी बैंकसँग माग गरेको छ । घर जग्गाको मुल्य र मुल्यांकन घटेकै आधारमा मूल्यांकनकर्ता इन्जिनियरहरुमाथि गरिएको कालोसूची लगायतका कारबाहीको सिफारिस फिर्ता लिन पनि माग अघि सारिएको छ ।
धेरै मूल्यांकनकर्ता इन्जिनियरहरु सुचिकृत गर्ने तर काम नदिने परिपाटीको तुरुन्त अन्त्य गर्नुपर्ने माग एनिभएले राखेको छ । त्यसैगरी, चक्रिय प्रणाली अन्तर्गत काम बाँडफाँड गर्न तथा न्युनतम मासिक रुपमा सुचिकृत मुल्यांकनकताहरुले कार्यादेश प्राप्त गर्ने सुनिश्चित गर्न पनि एनभिएले माग अघि सारेको छ ।
त्यस्तै, एनभिएद्धारा जारी मुल्यांकन परामर्श सेवा शुल्क तत्काल लागु गर्न, राष्ट्र बैंकको निर्देशिका बमोजिम मुल्यांकनकर्ता इन्जिनियरहरुको काम,कर्तव्य अधिकार तथा उत्तरदायित्व अनिवार्य उल्लेख गरी मात्र मुल्यांकनकर्ताहरुसँग सम्झौता गर्न, मुल्यांकनकर्ताहरुलाई विभिन्न बहानामा काम नदिई निलम्बन गरेको कारवाही तत्काल फिर्ता गर्न एनआइएमबी बैंकलाई आग्रह गरिएको एनभिएका महासचिव ई.अशोक सिलवालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
लामो समयदेखि धेरै सदस्यहरुको माग बमोजिम, गत असार ३२ गते काठमाडांैंमा बसेको भेला र अनलाइनमार्फत गरेको सर्वेक्षणको म्याण्डेटअनुसार एनआईएमबी बैंकबिरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न परेको एनभिएका अध्यक्ष ई.संजय कुमार महतोले बताए ।
विभिन्न बैंक वित्तिय संस्थाहरुले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दुख दिइरहेको अवस्थामा पछिल्लो समय एनआइएमबी बैंकले नेपाल बैंकर एशोसिएशन (एनबिए) र नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) बीच भएको सम्झौतानुसार काम नगरेको, अधिकांश इन्जिनियरहरुलाई कालोसूचीको पत्र काटेर तनाब दिएको, ३ सय भन्दा बढी इन्जिनियर स्टाण्डबाइ छन् भन्दै स्वतन्त्र मुल्यांकनकर्ता इन्जिनियरहरुलाई हेप्ने गरेको, इन्जिनियरहरुलाई धम्काउने, होच्याउने काम गरेको, मुल्यांकनकर्ता इन्जिनियरहरु भन्दा बाहिरका इन्जिनियरहरु ल्याएर काम गराउछु भन्दै सम्झौता विपरित निराशाजन्य अभिव्यक्ति दिने गरेकाले मुल्यांकनकर्ता इन्जिनियरहरुले आन्दोलनको घोषणा गर्नु परेको एनभिएले जनाएको छ ।