नेपाली सेनाको त्रिभुवन क्लव भारतमा हुने डुरान्ड कपमा सहभागी हुँदै

काठमाडौं, ३ साउन । नेपाली सेनाको त्रिभुवन आर्मी क्लव भारतमा हुने डुरान्ड कपमा सहभागी हुँदैछ । भारतीय सेनाको आयोजनामा संचालन हुने १३४औं डुरान्ड कप फुटबलमा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडीहरु आज भारततर्फ प्रस्थान गरेका छन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतको ए लेभलका फुटबल क्लबहरु र भारतका आर्मीका फुटबल टिमहरुसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता एक महिनासम्म चल्नेछ ।
प्रतियोगितामा सहभागी हुन जाने सेनाको टोलीलाई सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले जङ्गी अड्डामा एक कार्यक्रमका बीच विदाई गरेका थिए ।
यस किसिमका खेलकुद प्रतियोगिताहरुमा हुने सहभागिताले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन तथा नेपाली सेना र भारतीय सेनाबीचको मित्रता र सहकार्यलाई नयाँ उचाईमा पुर्याउने कार्यको लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।