शंखादेवीमा हिन्दू स्वयंसेवक संघको गुरुदक्षिणा

ललितपुर, २ साउन । हिन्दू स्वयंसेवक संघको देशव्यापी गुरुदक्षिणा उत्सव चलिरहेको छ । शुक्रबार ललितपुरको महालक्ष्मी नगरपालिका ८ स्थित शंखादेवी मन्दिर परिसरमा गुरुदक्षिणा कार्यक्रम भएको छ ।
कार्यक्रममा हिन्दू स्वयंसेवक संघ, नेपालका लालबहादुर चौधरीले समर्थ हिन्दूका लागि संगठित हिन्दूमा जोड दिदै गुरुदक्षिणाबारे चर्चा गरेका थिए । उनले हिन्दूले हिन्दूलाई दुःख सुखमा साथ दिनुपर्ने भन्दै एकतावद्ध भएर आफ्नो धर्म संस्कृतिको रक्षामा लाग्नुपर्ने बताए ।
हिन्दू स्वयंसेवक संघ, नेपाल महालक्ष्मी नगरपालिकाका संघचालक गणेश खनालले हिन्दू दर्शन आधुनिक समाजका लागि झन् उपयोगी सावित भएको बताए । उनले हिन्दू संस्कारबाट सँसारले नै लाभ लिन थालेको बताउँदै नेपाली समाजले यसलाई मनन गरेर शान्ति र समृद्धि हासिलको दिशामा बढ्नुपर्ने बताए ।
कार्यक्रममा हिन्दू स्वयंसेवक संघ, नेपाल उपत्यका प्रचार विभाग प्रमुख डा. दीपेश केसी, संघका महालक्ष्मी नगरपालिकाका कार्यवाहक माधव चन्द, शंखादेवी भक्ति समूहका सचिव पुस्कार आचार्य, स्थानीय बुद्धिजिवी, महिलालगायतको उल्लेख्य उपस्थिति थियो ।