१ श्रावण २०८२, बुधबार | July 17, 2025

एनआइएमबी बैंकबिरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा


2.9k
Shares

काठमाडौं,३२ असार । नेपालका व्यवसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंक बिरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार राजधानीमा बृहत छलफलको आयोजना गरेर सो बैंकविरुद्धको आन्दोलनको घोषणा गरेको हो ।

मुल्यांकन पेशामा देखिएका समस्या,चुनौती र समाधानका विषयमा बुधबार आयोजित बृहत छलफल कार्यक्रमले एनभिएका उपाध्यक्ष ई. दिनेश कुमार पाठकलाई आन्दोलनको संयोजक तोकेको छ । आगामी साउन २ गते बस्ने कार्यसमितिको बैठकले आन्दोेलनका थप चरणहरु घोषणा गर्ने र आन्दोलनलाई अगाडी बढाउन ई. पाठकलाई जिम्मेवारी दिने समेत आजको छलफलले निर्णय गरेको छ ।

 

विभिन्न बैंक वित्तिय संस्थाहरुले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दुख दिइरहेको अवस्थामा पछिल्लो समय एनआइएमबी बैंकले नेपाल बैंकर एशोसिएशन (एनबिए) र नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) बीच भएको सम्झौतानुसार काम नगरेको, अधिकांश इन्जिनियरहरुलाई कालोसूचीको पत्र काटेर तनाब दिएको, ३ सय भन्दा बढी इन्जिनियर स्टाण्डबाइ छन् भन्दै स्वतन्त्र मुल्यांकनकर्ता इन्जिनियरहरुलाई हेप्ने गरेको, इन्जिनियरहरुलाई धम्काउने, होच्याउने काम गरेको, मुल्यांकनकर्ता इन्जिनियरहरु भन्दा बाहिरका इन्जिनियरहरु ल्याएर काम गराउछु भन्दै सम्झौता विपरित निराशाजन्य अभिव्यक्ति दिने गरेकाले मुल्यांकनकर्ता इन्जिनियरहरुले आन्दोलनको घोषणा गर्नु परेको एनभिएले जनाएको छ ।

एनभिएले अहिलेको विषम परिस्थितिमा जग्गाको मुल्य घटेको थाहा हुँदाहुँदै पनि मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दबाब दिएको, एनभिएले लागु गरेको नीति कार्यान्वयनमा कुनै हालतमा पनि कार्यान्वयन नगर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको, एनभिएले लिने गरेको फि कै कारणले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई भेदभाव गरेको जस्ता कारणले गर्दा सो बैंक बिरुद्ध आन्दोलन गर्न बाध्य भएको समेत जनाएको छ ।

एनआइएमबी बैंक बिरुद्धको आन्दोलनको विषय सतहमा आउनु अघि एनभिएका उपाध्यक्ष प्रज्ञान घिमिरेको संयोजकत्वमा आइटी टिमले मुल्यांकनकर्ता इन्जिनियरहरुमाथि सर्वेक्षण गरेको थियो । ‘कुन बैंकहरुले बढी हैरानी दिइरहेको छ, कुन बैंक बिरुद्ध एनभिएले कदम अगाडी बढाउनु पर्ने हो ?’ भनेर मुल्यांकन कर्ता इन्जिनियरहरुसँग प्रश्न सामाजिक सञ्जाल ह्वाट्सप/भाइरबमार्फत सोधेको थियो । सो प्रश्नको जवाफमा बहुमत सदस्यहरुले एनआईएमबी बैंक नै रोजेका कारण पनि सो बैंक विरुद्ध उत्रिन परेको एनभिएले जनाएको छ ।

मुल्यांकन पेशामा देखिएका समस्या,चुनौती र समाधानका विषयमा बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै एनभिएका केन्द्रीय अध्यक्ष ई.संजयकुमार महतोले आज बुधबार सम्पन्न कार्यक्रमको नाम नै ‘बैंकहरुले दिएको पीडा र अबको रणनीति’ राख्न मन लागेको बताए । यस अघि पनि एनआईएमबी बैंकले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दबाब दिदैं आएको अनुभव सुनाउँदै भने, “म यस अघि उपाध्यक्ष हुँदा बैंक वित्तिय संस्थाको काम कारबाही हेर्ने कमिटिको संयोजक थिये र त्यतिबेला पनि बैंकले ललाइफकाइ गर्ने लगायतका काम गरेर भुलायो । तत्कालिन समयमा एनआइएमबी बैंक बिरुद्ध पहिलो चरणको आन्दोलन गरि सकिएको हो । यो कार्यसमिति आइसकेपछि पनि सो बैंकले फकाउने र झुलाउने मात्रै काम गरिराख्यो, आजको सर्वेक्षणको नतिजाले पनि उक्त बैंकलाई नै सच्चाउनु पर्ने देखियो । सो बैंक बिरुद्धको आन्दोलनमा जान बहुसंख्यक सदस्यहरुको समर्थन देखियो ।”

अध्यक्ष महतोले प्रदेश र च्याप्टरहरुसँग सल्लाह गरेर र कार्यसमितिले निर्णय गरेर आान्दोलनका संयोजक पाठकलाई चाडै नै थप जिम्मेवारीसहित कार्य अघि बढाउन अनुमति दिने जानकारी दिए । उनका अनुसार संयोजक पाठकको नेतृत्वमा सशक्तरुपमा र भ्यालुयर्स इन्जिनियरहरुलाई न्याय हुने तरिकाले आन्दोलन सफल हुने मुल्यांकनकर्ताहरुलाई विश्वस्त हुन आग्रह गरे ।

उक्त कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष ई. ऋषि कोइरालाले आफ्नो कार्यकालमा सो काम गर्न नसकेपनि नयाँ कमिटिले गर्न लागेको उक्त काममा आफ्नो पुर्णरुपमा साथ र समर्थन रहेको बताए । कोइरालाले पहिला ८० जना इन्जिनियर हुँदा पनि नविल बैंक र कुमारी बैंक विरुद्धको आन्दोलन सफल बनाइसकेको उदाहरण प्रस्तुत गरे । हाल ३ हजार भन्दा बढी इन्जिनियरहरु भएकोले यो कमिटीलाई अझ सजिलो हुने उनको भनाइ थियो ।

त्यसैगरी, एनभिएका सल्लाहकार ई. लक्ष्मणबाबु सेढाइले आन्दोलनका विभिन्न प्रकार हुने र तिनै प्रकार मध्ये सो बैंक बिरुद्ध चरणबद्ध रुपमा आन्दोलनहरु घोषणा गरेर कमिटी अगाडी बढोस भन्ने आफ्नो चाहाना रहेको बताए ।

 

छलफलको क्रममा सचिव ई. रबिन्द्र अधिकारीले सहभागीहरुलाई आन्दोलनमा तपाईहरुको एक्येवद्धता छ की छैन भनेर प्रश्न सोधेका थिए ? उपस्थित सम्पुर्ण इन्जिनियरहरुले र्कतल ध्वनीका साथ आन्दोलनमाथि समर्थन रहेको जनाएका थिए । अधिकारीले साउन १ गतेदेखि आफुले हस्ताक्षर गर्ने रिपोटमा एनभिए नम्बर अनिवार्य रुपमा राख्न आग्रह गरे । नम्बर उल्लेख गरेमा एनभिएमा आबद्ध मुल्यांकनकर्ताहरुका समस्याहरु सुुनुवाइ गर्न सजिलो हुने समेत उनले स्पष्ट पारे ।

सहभागीहरुले गरिमा विकास बैंकले पछिल्लो समयमा गरेको पत्राचारको विषयमा कुरा उठाएका थिए । ई. अधिकारीले डिबान र एनभिएको सम्झौता बमोजिम सर्भिस ड्राफ्ट लागु गर्ने, साउनको पहिलो वा दोस्रो हप्ता सहमति गर्ने र त्यसपछि सबै समस्या समाधान हुने सम्झौता गर्दा गर्दै डिबानको सचिव समेत रहेको गरिमा विकास बैंकले एकलौटी रुपमा असारको अन्तिम हप्तामा आफ्नो कार्यविधि लाद्न खोजेको बताउँदै यो आन्दोलन उक्त बैंकले सो कार्य नसच्चाए गरिमा तर्फपनि केन्द्रीत हुन सक्ने बताए । अधिकारीले उक्त विकास बैंकको सर्कुलर नेपाल राष्ट्र बैंकको प्रावधान विपरित छ भन्दै आफुहरु राष्ट्र बैंकले प्रावधान सच्चाएर ऐन बन्नु पर्छ भनेर लागिरहेको बेला एकलौटी रुपमा उक्त विकास बैंकले ल्याएका शर्तहरु मुल्यांकनकर्ता इन्जिनियरहरु मान्न बाध्य नहुने बताए ।

एनभिएले आफ्ना सदस्यहरुलाई ऋणि वा ऋणिका प्रतिनिधि बाहेक साइट भिजिट नगर्न, एनभिएले तोके बमोजिमको फि आफुलाई आएको सुनिश्चितता नभइकन रिपोट नदिन पनि सर्कुलर जारी गरेको छ ।

सो कार्यक्रममा कार्यक्रमको कार्यपत्र एनभिएका महासचिव ई.अशोक सिलवालले प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य एनभिएका उपाध्यक्ष ई. विकास वाग्लेले राखेका थिए । उक्त छलफल कार्यक्रममा ३ सय भन्दा बढी काठमाडौंमा उपलब्ध मुल्यांकनकर्ता इन्जिनियरहरुको उपस्थिति थियो ।
एनभिए मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन हो । यस संस्थासँग ९ सय भन्दा बढी संस्थागत सदस्य र ३ हजार भन्दा बढी इन्जिनियरहरु आबद्ध छन् ।

 

सो बृहत छलफल कार्यक्रममा कक्षा ७ मा अध्ययनरत छात्र निर्जला पौडेलले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया