अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माणको शिलान्यास

काठमाडौं, ३१ असार । भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास भएको छ । मंगलबार अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रुपमा भवनको शिलान्यास गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।
भारत सरकारको ३ करोड १८ लाख को अनुदान सहयोगमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुँदैछ । । अनुदान सहयोग कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवम् छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचनासहितको तीन तल्ले भवनको निर्माणमा उपयोग गरिनेछ । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको र अरुण गाउँपालिका, भोजपुरमार्फत कार्यान्वयन गरिने जनाइएको छ ।
अरुण गाउँपालिकाका अध्यक्ष र राजनीतिक प्रतिनिधिहरुले नेपालको उन्नति र विकासका लागि भारत सरकारले प्रदान गरिरहेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनले यस क्षेत्रको सांस्कृतिक र शैक्षिक पूर्वाधारको विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।