दृष्टिका सम्पादकद्वय शम्भु श्रेष्ठ र एमपी सुब्बा धरौटीमा छुटे

काठमाडौं, १२ असार । अदालतको अवहेलना मुद्दामा बयानका लागि बोलाइएका दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा छाडिएका छन् । दुवैलाई २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेश गरेसँगै धरौटी बुझाएर रिहा भएका हुन् ।
विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले बिहीबार दुवै जनाको बयान र थुनछेक बहसपछि २५–२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका हुन् ।
वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरे ।
समाचार लेखेकै आधारमा श्रेष्ठ र सुब्बालाई बयानका लागि बोलाइएकोमा पत्रकारसम्वद्ध संघसंस्थाहरुले चासो दिएका छन् । यसलाई गम्भीर रुपमा लिदै विशेष अदालतमा पत्रकारहरु ऐक्यवद्धताका लागि पुगेका थिए ।