अफताव प्रकरणमा अदालतको फैसलाको पूर्ण पाठले अर्को तरंग

काठमाडौं, ११ असार । रौतहट बम काण्डपछि घाइतेलाई ईट्टाभट्टामा जिउँदै हालेर मारेको घटनामा जिल्ला अदालतले दोषी ठहर गरेकोमा उल्टाउने उच्च अदालतको फैसलाको पूर्ण पाठले अर्को तरंग ल्याएको छ । न्यायाधीशहरु खुशी प्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलाशले गरेको फैसलाको पूर्ण पाठमा बम बिष्फोट नै नभएको भनिएको छ । बम बिष्फोट नभएको मत्र नभई घटनामा मारिएका त्रिलोक प्रताप सिंह र ओसी अख्तर नमारिएको जिकिर गरिएको छ ।
प्रहरीले अनुसन्धान गरी आलमसहित उनका भाई र अन्यलाई सरकारी वकिलमार्फत् मुद्दा दायर भई जिल्ला अदालत रौतहटले दोषी ठहर गरेको घटनामा उच्च अदालतले पूर्ण पाठमा मृतक सिंह र अख्तर अज्ञात भनेको छ । साक्षीको भनाईलाई प्रमाणको रुपमा लिन नसकिने ठहर समेत गरेको छ । बरु रौतहट बम काण्ड नै नभएको भनेको छ ।
१४ जेठमा उच्च अदालतले गरेको फैसलाको चर्को आलोचना भएको छ । यो घटनापछि न्याय परिषदले न्यायाधीशहरु थारु र महर्जनलाई छानबिनका लागि तानेको छ । उनीहरुविरुद्ध मृतक त्रिलोकका बाबुका अलावा तीनजनाले उजूरी दिएका छन् ।
२०६४ साल चैत्र २७ मा आलमको घर नजिकै कटेरोमा बम बिष्फोट भएको थियो । संविधान सभा चुनाव अघि भएको उक्त घटनालाई सामसुम पारी प्रहरीलाई अनुसन्धान नै गर्नबाट रोकिएको थियो । तत्कालीन प्रहरी अधिकृत एसपी लक्ष्मण न्यौपाने थिए । उनले घटनामा सबुत प्रमाण नभेटिएको प्रहरी प्रतिवेदन दिए । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय लियो । सर्वोच्च अदालतको आदेश आएपछि तत्कालीन आइजीपी सर्वेन्द्र खनालको पालामा अनुसन्धान मात्र बढेन मुद्दा नै दायर भयो ।
घटनाको समयमा मानवअधिकारवादी र सञ्चारकर्मीलाई समेत घटनास्थल वरपर जान रोकिएको थियो । सबुत मेटाउने अनेकन उपाय अपनाइएको थियो ।
घटनाकी जाहेरीवाल ओसी अख्तरकी आमा रुक्साना खातुनको समेत हत्या भयो । २०६७ मा उनको हत्या भएपछि जाहेरीवाला श्रीनारायण सिंह पनि त्रसित भए । तर, अनुसन्धान बढेर जिल्ला अदालतबाट आलम दाजुभाईसहित चारजनालाई जन्म कैदको सजाय भयो ।
उच्च अदालतले फैसला उल्टाएर निर्दोष ठहर मात्र गरेन घटना नै नभएको फैसलाको पूर्ण पाठमा उल्लेख गरेको छ । यसले अर्को तरंग ल्याएको छ ।