१० असार २०८२, मंगलबार | June 25, 2025

इरानबाट भारतको सहयोगमा दुई नेपालीको उद्धार


332
Shares

काठमाडौं, १० असार । भारत सरकारले इरानबाट आफ्ना नागरिकको उद्धार गर्ने क्रम जारी राखेको छ । यस क्रममा नेपालको अनुरोधमा दुई नेपालीको समेत उद्धार गरेको छ । दुवै नेपाली दिल्ली ल्याइएका छन् ।

भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपालीमा गणेशप्रसाद पोखरेल र सुमन गैरे छन् । उनीहरु मंगलबार नयाँ दिल्ली आइपुगेका छन् । इरान–इजरायल युद्धका कारण इरानमा समस्यामा परेका १६ नेपालीमध्ये यी दुईलाई इरानस्थित भारतीय दूतावासले उद्धार गरी दिल्ली ल्याएको हो ।

इरानमा रहेका १६ नेपालीमध्ये पाँच जना जेलमा छन् भने बाँकी ११ जनाको उद्धारका लागि पहल भइरहेको छ । यी ११ जना भारतले उद्धार उडान सञ्चालन गरिरहेको इरानको मसाद सहरमा पुगेका थिए । तर, भारतीय नागरिकसँगै त्यहाँ पुगेका ११ मध्ये ९ जनासँग इरानी कानुनअनुसार आवश्यक कागजात नभएका कारण उडान अनुमति प्राप्त नभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

बाँकी ९ जना मसादको एक होटलमा भारतीय नागरिकसँगै सुरक्षित छन् र उनीहरूलाई भारतीय नागरिकसँगै उद्धार गरिने इरानस्थित भारतीय दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले इरानमा समस्यामा परेका नेपालीलाई भारतीय नागरिकको उद्धारसँगै ल्याउन भारत सरकारसँग आग्रह गरेकी थिइन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, मसादमा रहेका नेपाली र जेलमा रहेका अन्य व्यक्तिहरूलाई स्वदेश फर्काउन आवश्यक कागजातको व्यवस्था भइरहेको छ । हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती देशमा जान चाहने नेपालीका लागि अनलाइन भिसालगायत सहजीकरण गर्न खाडीस्थित नेपाली नियोगहरूलाई निर्देशन दिइएको मन्त्री राणाले बताएकी छन् ।

प्रतिक्रिया