८ असार २०८२, आइतबार | June 22, 2025

नेप्सेमा गिरावट, कारोबार रकम घट्यो


249
Shares

काठमाडौं, ८ असार । यो साता नेप्से परिसूचकले राम्रो संकेत गरेन । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । निरन्तर चौथो कारोबार दिन घटेर नेप्से परिसूचक २६०० विन्दुभन्दा तल पुगेको छ ।

आइतबार नेप्से परिसूचक ३२.९३ अङ्क घटेर २५९५.९७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.३८ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अङ्क घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३१० स्टकको ८७ हजार ३०२ पटकको कारोबारमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ३१ रुपैयाँ ६२ पैसा बढेर ३४८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको पियोर इनर्जीको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा दोर्दी खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, बुटवल पावर कम्पनीको साढे ७४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको साढे ४९ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत घटेको छ । त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया