७ असार २०८२, शनिबार | June 22, 2025

पोखरामा सात हजार योग अभ्यासकर्ताले गरे योग प्रदर्शन


249
Shares

काठमाडौं, ७ असार । अन्तर्राष्ट्रिय योग दिवस देशभर मनाइएको छ । प्रमुख शहर देखि दुरदराजका गाउँहरुसम्म योग दिवसका अवसरमा विविध कार्यक्रम आयोजना भयो ।

यो वर्ष भारतीय राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस समारोहको मुख्य आकर्षण पोखरा महानगरपालिकासँगको सहकार्यमा असार ७ गते पोखराको रंगशालामा आयोजित भव्य योग प्रदर्शन थियो । उक्त कार्यक्रममा त्यस क्षेत्रभरिका ७००० भन्दा बढी योग अभ्यासकर्ताहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि कार्यक्रममा सहभागिता जनाए । मुख्यमन्त्री पाण्डेले पोखरामा उल्लेखनीय स्तरमा अन्तर्राष्ट्रिय योग दिवस समारोह आयोजना गरेकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गरे । उनले योगले भारत र नेपालबीचको स्थायी र प्रगाढ सांस्कृतिक सम्बन्धको अभिन्न पक्षलाई प्रतिनिधित्व गर्ने कुरामा जोड दिए ।

राजदूत नवीन श्रीवास्तवले दुई राष्ट्रहरुबीच अर्थपूर्ण सांस्कृतिक सेतुको रुपमा योगको भूमिकामा जोड दिए र नेपालमा योग पर्यटनलाई थप प्रवद्र्धन गर्न यहाँको प्रमुख पर्यटकीय स्थलहरुमा यस्ता कार्यक्रमहरु आयोजना गर्ने सम्भावनामाथि प्रकाश गरे ।

पोखराका मेयरले यस्ता पहलहरु मार्फत पोखरालाई नेपालको पर्यटन केन्द्रको रुपमा स्थापित गर्न राजदूतावासले गरेको कार्यक्रमको प्रशंशा गरे ।

११ औं संस्करण मनाउन काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगंज, हेटौँडा, रौतहट र बरियारपुर लगायत नेपालका १० शहर र नगरपालिकाहरुमा विभिन्न आकर्षक कार्यक्रमहरुको आयोजना गर्‍यो ।

“एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्ने विषयवस्तु अनुरुप अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ७५ दिन अगावै भारतीय राजदूतावासले २०८१ चैत्र २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन सहितको शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियो । भारतीय सेनाका पूर्व सैनिकहरुको सक्रिय सहभागीतामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ५० दिन अगावै भारतीय राजदूतावासले वैशाख १९ गते काठमाडौँस्थित ईसीएचएस पोलिक्लिनिकमा योग सत्र सञ्चालन गर्‍यो । त्यस्तै अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन २५ दिन अगावै मिति २०८२ जेठ १३ गते काठमाडौँको नेपाली सेना मुख्यालय मैदानमा योग सत्र आयोजना गरिएको थियो जसमा नेपाली सेनाका कर्मचारीहरुले सहभागीता जनाएका थिए ।

भारतीय राजदूतावासले काठमाडौं उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदा स्थलहरु क्रमशः पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वाय, बौद्धनाथ स्तुपा, स्वयम्भूनाथ स्तुपा, चाँगुनारायण मन्दिर, पाटन दरबार स्क्वायरमा योग आसन प्रदर्शन आयोजना गर्‍यो । कार्यक्रमहरुमा योगमा अभिरुचि राख्नेहरु र भारतीय डायस्पोराका सदस्यहरुको सक्रिय सहभागीता देखिएको थियो । पाटन दरबार स्क्वायरमा आयोजित योग प्रदर्शनमा नेपाली सेलिब्रेटीहरु, स्थानीय अधिकारीहरु, बासिन्दाहरु र भारतीय समुदायका सदस्यहरुको उत्साहजनक सहभागीता थियो ।

जेठ ३० गते काठमाडौंको केन्द्रीय विद्यालयको परिसरमा काठमाडौंका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागीतामा योग सत्र आयोजना गरिएको थियो । परम्परागत भारतीय ज्ञान र समग्र कल्याणमा आधारित सही किसिमको खान्की अँगाल्न विद्यार्थीहरुलाई प्रेरित गर्दै कार्यक्रममा “सात्विक आहारका फाइदाहरु“ बारे एक अन्तर्दृष्टिपूर्ण व्याख्यानसहितको प्रस्तुति देखाइएको थियो । यसका साथै भारतीय राजदूतावासले असार १ गते काठमाडौँस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० को मुख्यालयमा योग सत्र आयोजना गर्न इसिमोडसँग साझेदारी गरेको थियो । कार्यक्रममा इसिमोड र काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरुको उपस्थिति थियो ।

मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा रमणीय लमजुङ जिल्लामा असार ५ गते योग प्रदर्शन आयोजना गरिएको थियो । त्यस्तै भारतीय राजदूतावासले पोखराको तीन प्रमुख स्थलहरुमा योग प्रदर्शनहरु सञ्चालन गरेको थियोः अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यहरुका लागि प्रसिद्ध सराङकोट भ्यु पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक शान्तिसँगै मनोरम दृश्यहरु देख्न पाइन्छ र रमणीय अनदु डाँडामा अवस्थित सुन्दर शान्ति स्तूप ।

योगको उत्सवलाई निरन्तरता दिँदै भारतीय राजदूतावासले असार ६ गते पोखराको फेवा तालको शान्त किनारमा एक बृहत स्तरको योग र ध्यान सत्रको आयोजना गर्‍यो । ५०० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमले मानव चेतनालाई प्रकृतिसँग जोड्ने योगको गहन क्षमतालाई प्रकाश पारेको थियो ।

असार ६ गते भारतीय राजदूतावासले लुम्बिनीस्थित लुम्बिनी विकास कोषमा एक बृहत स्तरको योग प्रदर्शन आयोजना गर्‍यो जसमा ५०० भन्दा बढी योगमा अभिरुचि राख्नेहरुको सहभागीता थियो । उक्त कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी उपस्थिति थिए । लुम्बिनीका प्रदेश प्रमुखले आफ्नो सम्बोधनमा भगवान् बुद्धको पवित्र जन्मस्थलमा अर्थपूर्ण योग कार्यक्रम आयोजना गरेकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गर्दै भारत र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न यसको महत्वलाई स्वीकार गरे।

युवा तथा खेलकुद मन्त्रीले पनि कार्यक्रम आयोजना गरेकोमा र योग मार्फत कल्याण र एकताको भावनालाई प्रवद्र्धन गरेकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गरे ।
राजदूत नवीन श्रीवास्तवले योगको विश्वव्यापी आकर्षण तथा स्वस्थ, सचेत र दिगो जीवनशैलीलाई बढावा दिन यसको महत्वपूर्ण भूमिकामाथि जोड दिए।

 

प्रतिक्रिया