लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवसको उत्सव

काठमाडौं, ६ असार । भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा बृहत् योग प्रदर्शन भएको छ । भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा उक्त प्रदर्शनको आयोजना गरेको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए । भगवान् बुद्धको पवित्र जन्मभूमिमा महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा र भारत र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ गरेकोमा प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गरे । लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरूका साथै उक्त क्षेत्रका ५०० भन्दा बढी योगमा अभिरुची राख्नेहरुले सहभागिता जनाएका थिए ।
भारतीय राजदूत नवीन श्रीवास्तवले भारतमा उत्पत्ति भएको एउटा प्राचीन अभ्यासको रुपमा रहेको योग सन् २०१४ मा संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि एक विश्वव्यापी आन्दोलनका रूपमा विकसित भएको कुरामा जोड दिए । उनले शान्ति र सद्भावको प्रतीकको रूपमा व्यापक रूपमा परिचित लुम्बिनी योगका कालातीत मूल्यमान्यताहरू मनाउनका लागि साँच्चै नै उपयुक्त स्थल भएको बताए ।
कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा लुम्बिनी विकास कोषप्रति आभार व्यक्त गर्दै लुम्बिनीलाई आध्यात्मिक र धार्मिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न यसले खेल्ने भूमिका उपर जोड दिएका थिए ।
कार्यक्रम भारतीय राजदूतावासले नेपालका विभिन्न शहरहरूमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन आयोजना गरिरहेको कार्यक्रमहरूको श्रृंखलाको एक हिस्सा रहेको जनाएको छ ।
भारतीय राजदूतावासले पोखरा महानगरपालिकासँगको सहकार्यमा भोलि ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा रंगशालामा एक विशाल योग प्रदर्शन आयोजना गर्ने जानकारी दिएको छ ।