युद्धका बीच ट्रम्पको ट्वीटले तेलको मूल्य निरन्तर उकालो लाग्यो

एजेन्सी, ४ असार । विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ । इजरायल र इरानबीचको युद्धले उत्पादन र आपूर्तिमा असर परेसँगै मूल्य बढेको हो ।
कच्चा तेलको मूल्य प्रतिब्यारल ७५ डलर माथि छ । मूल्य बढ्ने क्रम चलिरहेको छ । इजरायलले इरानमाथि हमला गरेयता १० प्रतिशतले तेलको मूल्य वृद्धि भइसकेको छ । मध्यपूर्वमा तेलको उत्पादन र आपूर्ति निरन्तर भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथि चेतावनीका लगातारका ट्वीटले पनि तेलको मूल्य बढेको छ । यसबाहेक विश्वको २० प्रतिशत तेल आपूर्तिको मार्ग द स्ट्रेट अफ होरमुजको संवेदनशीलता बढेको छ । होरमुजको उत्तरी क्षेत्र इरानको तटीय भूभाग हो । यसकारण पनि उक्त क्षेत्र निकै संवेदनशील बनिरहेको छ ।
तेलको मूल्य बढिरहँदा आयात गर्ने देशहरु मारमा परेका छन् । तेल आयात बढी गर्ने देशहरु चीन र भारतको अर्थतन्त्रमा असर पर्ने देखिएको छ । तेलमा परनिर्भर देश नेपालले पनि चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।