१ असार २०८२, आइतबार | June 15, 2025

प्रधानमन्त्री ओलीको भारत भ्रमण होला ?


249
Shares

काठमाडौं, १ असार । केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा हुन लागेको छ । उनी यसअघि दुईपटक प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेका थिए । यसपटक भने उनलाई भारतबाट निम्तो आएको छैन ।

ओलीलाई भारतले निम्तो दिने चर्चा र हल्ला धेरै चल्यो । तर, उनी अझै बोलाइएनन् । यसले विभिन्न शंका आशंका जन्मिइरहेको छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीको भारतसँग सम्बन्ध सामान्य छैन । उनले भारतविरोधी अभिव्यक्ति दिएको विषय विगतमा चर्चामा थियो । नाकाबन्दीका बेलामा उनले भारतको खुलेर विरोध गरेका थिए । संविधान निर्माण हुँदा भारतका तत्कालीन विदेश सचिव एस जयशंकरको आलोचना नै गरे । चुच्चे नक्शा जारी गर्दा ओली प्रधानमन्त्री थिए । यसकारण पनि उनको भारतसँग सम्बन्ध चिसिएको थियो ।

ओली पछिल्लोपटक प्रधानमन्त्री बनेपछि भारतले भ्रमणको निम्तो देला या नदेला चासो चलेको थियो । तर, उनी बोलाइएनन् । विगतमा प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा चीनलाई भ्रमणको पहिलो गन्तव्य बनाएका थिए । त्यतिबेला यो कदम निकै चर्चामा पुग्यो । पछि दुईपटक प्रधानमन्त्री हुँदा प्रचण्डले भारतलाई नै भ्रमणको पहिलो देश बनाए ।

एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली गरी चारजना प्रधानमन्त्री भएका छन् । त्यसमध्ये खनाल त्यस्ता प्रधानमन्त्री हुन् जसलाई भारतले भ्रमणमा निम्तो गरेन । ओली अघिल्लो दुईपटक भारत भ्रमणमा गएका थिए । यसपटक भने उनलाई नबोलाउने देखिएको छ । तैपनि, परराष्ट्र मन्त्रालयले भ्रमणको पहल गरिरहेको छ । ओलीनिकटस्थहरु पनि कूटनीतिक लबिङ गरी भ्रमणको चाँजोपाँजो मिलाउने प्रयासमा छन् । तर, त्यो सजिलो भने छैन ।

प्रतिक्रिया