संवेदनशील नेतृत्व र साझा पहिचानको पक्षमा छु : पेम्बा शेर्पा

पेम्बा शेर्पा । नेपाल शेर्पा संघको ७औं महाधिवेशनको ऐतिहासिक अवसरमा संघका सम्पूर्ण पदाधिकारीहरू, प्रतिनिधिहरू, शुभेच्छुक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना तथा सफलताको कामना व्यक्त गर्दछु ।
यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, संघको वैचारिक स्पष्टता, नीतिगत मार्गदर्शन र भावी रणनीतिक दिशाको निर्धारण गर्ने अवसर पनि हो। यो अवसरलाई हामीले गम्भीर, जिम्मेवार र दूरदर्शितापूर्ण ढंगले उपयोग गर्नुपर्छ भन्ने मेरो विश्वास छ।
सशक्त र दिगो संस्थागत विकासका लागि नेतृत्व चयन प्रक्रियामा सहमति, सहकार्य र सहभागिता अपरिहार्य छन्। लोकतान्त्रिक मूल्य, पारदर्शिता र संघको नियमावलीको पूर्ण सम्मान गर्दै नेतृत्व चयन होस् भन्ने अपेक्षा राख्दछु। कुनै पनि व्यक्तिको एकल निर्णय, गुटगत दबाब वा टीका–प्रथाले होइन, समावेशी र उत्तरदायी प्रक्रियाबाट निर्वाचित नेतृत्व नै संस्थाको आधारशिला बन्न सक्छ।
आजको सन्दर्भमा शेर्पा समुदायले सामना गरिरहेका सामाजिक, राजनीतिक र आर्थिक चुनौतीहरूको समाधान टुक्रिएर होइन, एकजुट भएर मात्र सम्भव छ। व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठी, साझा हक–हित र पहिचानको रक्षार्थ सबै एकताबद्ध हुन जरुरी छ।
शेर्पा समुदाय अब केवल संस्कृति संरक्षणमा सीमित नबसी, राज्य व्यवस्थामा सक्रिय र निर्णायक भूमिका निर्वाह गर्ने चरणमा प्रवेश गर्नुपर्छ। राज्यका हरेक तहमा प्रतिनिधित्वको सुनिश्चितता र प्रभावकारी सहभागिता सुनिश्चित गर्नका लागि सक्षम, शिक्षित, इमानदार र दूरदृष्टि सम्पन्न नेतृत्वको खाँचो छ। यही नेतृत्वले मात्र समुदायलाई समृद्ध र सम्मानित दिशातर्फ डो(याउन सक्छ।
अन्त्यमा, ७औं महाधिवेशनले शेर्पा समुदायको एकता, सशक्तिकरण र संस्थागत विकासमा नयाँ युगको शुरुवात गराओस् भन्ने शुभकामना व्यक्त गर्दछु। महाधिवेशन भव्य, मर्यादित र भाइचारा पूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न होस्।
जय शेर्पा समुदाय
शेर्पा लोकतान्त्रिक शेर्पा संघको उपाध्यक्ष नेपाल हुन् ।