मेघराजलाई न्यायाधीश बनाउन के सम्म भएछ

काठमाडौं, २९ जेठ । न्यायाधीशको दौडमा छैन भनेका सर्वोच्च अदालत बार एशोशिएसनका अध्यक्ष मेघराज पोखरेलको नाम यसै हप्ता न्यायाधीशमा सिफारिश भएका तीनजनामध्ये अग्रपंक्तिमा परेपछि न्याय क्षेत्रमा टिकाटिप्पणी चलिरहेको छ । उमेरहदका कारण अबको ७ वर्षमात्र न्यायाधीशका रुपमा रहने पोखरेल विगतमा आफूभन्दा जुनिरहरु वकिलहरुभन्दा तल्लो वरियतामा रहनेछन् नियुक्तिपछि ।
केही महिनाअघि मात्र बारको अध्यक्ष निर्वाचित पोखरेलको नैतिकतामाथि समेत प्रश्न उठेको छ यतिबेला । सर्वोच्च बारको अध्यक्ष जस्तो पदमा निर्वाचित हुन नपाई न्यायाधीश ताकेर कुदिहाल्नुलाई एकजना डेमोक्रयाट वरिष्ठ अधिवक्ता नैतिकता नभएको बताउँछन् । उनी स्वयंले नेपाली पेनसँग आफू न्यायाधीशको दौडमा नरहेको भनेको प्रमाण सुरक्षित छ ।
पोखरेल ठूला व्यापारिक घरानासँग नजिकिएर काम गरे । उनले विगतमा चौधरी समूहसँग निकटता बनाएर कानूनी सल्लाहहरु दिएका थिए । पछिल्लो समय उनको सम्बन्ध विशाल ग्रुपका साहिल र सुलभ दाजुभाईसँग रहेको छ । यो समूह अहिले हिल्टन होटलबारे उठेका प्रकरणले विवादमा छ । पोखरेलको व्यापारिक घरानासँगको सम्बन्ध र न्यायाधीशमा नाम सिफारिश हुनुलाई रहस्यमय मानिएको छ ।
चौधरी समूह र विशाल समूहको व्यवसायसम्बन्धी धेरै मुद्दा अदालतमा विचाराधीन छन् । उनीहरुमाथि अदालतलाई प्रभावित बनाउन खोजेको आरोप पनि लाग्ने गरेको छ । पोखरेलले रवि लामिछानेको मुद्दामा बहस गरेर पनि चर्चामा आएका थिए । तैपनि, काँग्रेस कोटामा उनकै चयन हुनुले धेरैलाई आश्चर्यमा पारेको छ ।
काँग्रेसनिकट वकिलहरुको संगठनसँग आवद्ध मेघराजको नाम सिफारिश हुँदा भविष्यमा प्रधानन्यायाधीश बन्ने गरी न्यायाधीश बन्न दौडिएका कतिपय वकिलहरुलाई धक्का परेको छ । न्यायाधीश बन्नका लागि हालैमात्र वरिष्ठ बनाइएकाहरुको सपना चकनाचुर भएको छ । यसले न्यायालयमा आफ्ना मान्छेलाई भविष्यमा प्रधानन्यायाधीशको रोलक्रममा राख्दै लाने एमालेनिकट वकिलहरुको संगठनको रणनीति भने सफल भएको छ ।
यसै पनि सर्वोच्चमा अबको १० वर्षपछि बन्ने प्रधानन्यायाधीशको रोलक्रम तयार भइसकेको छ । अब कम उमेरका न्यायाधीश बनेमा त्यसपछि रोलक्रममा पर्नेछन् । त्यसका लागि काँग्रेस र एमालेनिकट वकिलहरुको तछाडमछाड छ । माओवादीलाई त सर्वोच्चमा न्यायाधीश बन्ने बाटो लगभग बन्द जस्तै देखिन्छ ।