माधव नेपालपछि कस्को पालो ?

काठमाडौं, २३ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि राजनीतिक तरंग आएको छ । अख्तियारले पहिलोपटक मन्त्रिपरिषदको निर्णयविरुद्ध मुद्दा दायर गरेको छ । यसले नयाँ नजिर पनि स्थापित गरेको छ ।
पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि मुद्दा दायर भएपछि देशमा कतिपय जग्गा प्रकरण पनि मन्त्रिपरिषदको निर्णयबाट बढाइएको छ । जसमध्ये ललिता निवास, गिरिबन्धु टी स्टेट, हरिसिद्धि, मातातीर्थ जग्गा प्रकरणलगायत छन् । यी जग्गा प्रकरण मन्त्रिपरिषदको निर्णयसँग जोडिएका छन् ।
जग्गा प्रकरणहरु निकै विवादास्पद छन् । जग्गा प्रकरणहरुमा मन्त्रिपरिषदले निर्णय लिंदा प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली, डा. बाबुराम भट्टराई थिए । भट्टराई ललिता निवास जग्गा प्रकरणमा जोडिएका छन् । ओली गिरिबन्धु टी स्टेट जग्गा प्रकरणमा जोडिएका हुन् ।
सैनिक स्मारकको जग्गा लिजमा दिने निर्णय पनि मन्त्रिपरिषदबाट निर्णय लिएर भएको थियो । पुल्चोकस्थित महत्वपूर्ण जग्गामा अहिले कम्प्लेक्स बनाइएको छ ।
देशमा मन्त्रिपरिषदको निर्णयविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि अब कतिपय पूर्वप्रधानमन्त्रीले मुद्दा खेप्नुपर्ने परिस्थित निर्माण भएको छ । अब माधव नेपालमा मात्र यस्ता मुद्दा टुंगिएला जस्तो छैन । देशका अन्य प्रधानमन्त्री पनि मुद्दा खेप्न वाध्य हुने देखिन्छ ।